गेजिङ: सिक्किमको जैविक अभियानलाई व्यवहारिक रूपमा आत्मसात गर्दै हि–याङ्थाङ वरिष्ठ माध्यमिक विद्यालयले ठूलो अलैंची खेती शुरु गरेको छ। १९४१ मा स्थापना भएको उक्त विद्यालयले शिक्षाको क्षेत्रमा निरन्तर प्रगतिका साथ कृषि र आत्मनिर्भरता शिक्षालाई पनि पाठ्यक्रमको अभिन्न अंशको रूपमा अघि बढाएको छ। विद्यालयले गत वर्ष जैविक हर्दी खेतीमा सफलता पाएपछि यस वर्ष ठूलो अलैंची खेतीलाई प्राथमिक परियोजनाका रूपमा शुरु गरेको हो। विद्यालयका प्रधानाध्यापक नारायण बस्नेतको नेतृत्वमा सम्पूर्ण शिक्षक–शिक्षिका, कर्मचारी र विद्यार्थीहरू एकजुट भएर विद्यालय परिसरमा जैविक विधिबाट अलैंची खेती गरिरहेका छन्। अहिले विद्यालय परिसरमा लगाइएको अलैंची टिप्ने सिजन चलिरहेको छ र विद्यार्थीहरू उत्साहका साथ अलैंची टिप्न व्यस्त छन्। विद्यार्थीहरूको हातमा टोकरी, अनुहारमा खुशी र उत्साह, कृषि शिक्षाको जिवन्त चित्र विद्यालयकै बगैँचामा देखिएको छ। प्रधानाध्यापक बस्नेतकाअनुसार, “शिक्षा केवल कक्षाकोठाभित्र सीमित हुनु हुँदैन, जीवनका सीप र आत्मनिर्भर सोच विद्यार्थीले विद्यालयमै सिक्नुपर्छ। यही कारण स्कूलले खेतीलाई शिक्षासँग जोड्ने पहल गरेका हौं।” विद्यालयले शुरुवाती चरणमै अलैंचीको बिरुवा रोपाइँदेखि हेरचाह, मलप्रयोग, सिंचाइ र रोगनियन्त्रणका सबै पक्षमा विद्यार्थीहरूलाई सक्रिय सहभागी गराएको छ। जब उत्पादनको सिजन आएको छ, विद्यार्थीहरूले आफैं टिपेको अलैंचीको संरक्षण, सुकाउने र भण्डारण गर्ने सीप पनि सिकिरहेका छन्। यसले उनीहरूलाई कृषि–उद्योग, व्यवसायिक सोच र व्यावहारिक सीपमा पारंगत बनाइरहेको छ। नवौं कक्षामा अध्ययनरत लिना लेप्चाले अनुभव राख्दै भनिन्, “पहिले किताबमै मात्र अलैंची सिक्किमको प्रमुख नगदे बाली हो भन्ने पढ्थ्यौ अहिले आफैं टिप्दा र सुकाउँदा मिहिनेत र ज्ञान सिकिरहेकाछौं। हामीलाई लाग्छ भविष्यमा आफ्नो गाउँमै केही नयाँ गर्न सक्छौं।” लिना जस्ता विद्यार्थीहरूको आत्मविश्वासले विद्यालयको यो पहल केवल परियोजना होइन, भविष्यप्रतिको लगानी भएको स्पष्ट गर्छ। विद्यालयले कृषि शिक्षालाई कक्षा शिक्षासँग जोडेर विद्यार्थीहरूलाई वातावरणमैत्री सोच, माटो संरक्षण, रासायनिक मलको विकल्प र जैविक उत्पादनको अवधारणामा केन्द्रित गर्दै आएको छ।

यस प्रयासले स्थानीय अभिभावक र कृषक समुदायमा पनि उत्साह बढाएको छ। अभिभावकहरूले आफ्ना छोराछोरीहरूले विद्यालयमै यस्तो व्यवहारिक सीप सिक्दै गरेको देख्दा गर्व महसुस गरिरहेका छन्। विद्यालयले सामुदायिक साझेदारीमा आधारित अन्य कृषि परियोजनाहरू पनि अगाडि बढाउने योजना बनाएको छ। यसअन्तर्गत मौरीपालन, तरकारी खेती र औषधिजन्य जडिबुटी उत्पादनमाथि लक्ष्य राखिएको छ। स्कूल ले अध्ययनसंगै आत्मनिर्भर शिक्षाको प्रयोग गर्दै आएको छ। विद्यार्थीहरूको जोश, शिक्षकहरूको समर्पण र समुदायको समर्थनले गर्दा यसलाई सिक्किमकै शिक्षाको एउटा प्रेरणादायी मोडेलको रूपमा देखिएको छ।