२४ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा आयोजक पीवाईएस ए टीम-ले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको म्याचमा पीवाईएस ए-ले ९ स्टार रम्बीलाई ३-१-ले पराजित गऱ्यो। पीवाईएस ए टीम-बाट सागर ठटालले २ अनि राजेश राईले १ गोल गरे। यसरी नै ९ स्टारबाट विक्रम सरकारले १ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









