गान्तोक: राज्य सरकारको कृषि जनगणना एकाइको पहलमा प्रधानमन्त्री फसल बीमा योजना अभियानअन्तर्गत खरीफ २०२५ को निम्ति राज्यस्तरीय अभियान “मेरी पोलिसी मेरो हात” थिममा तादोङस्थिति समिति हलमा एक कार्यक्रम आयोजना गरियो। कार्यक्रमको अध्यक्षता कृषि विभागका सचिव जिग्मी दोर्जी भोटियाले गरेका थिए। उनको साथमा अतिरिक्त निर्देशक रचना गरुङ, जनगणना इकाइका सदस्य अमित लामिछाने लगायत अन्य अधिकारीहरू सामेल थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जेनरली सेन्ट्रल इन्स्युरेन्स कम्पनीका प्रबन्धक सौरभ त्रिपाठीले प्रधानमन्त्री फसल बीमा योजनाको लाभबारे विस्तृतरूपमा जानकारी गराए। सोही प्रकारले अतिरिक्त निर्देशक रचना गुरूङले कार्यक्रमको मुख्य लक्ष्यबारेमा प्रकाश पारिन्। उनले थप जानकारी गराएअनुसार प्रधानमन्त्री फसल बीमा योजनाअन्तर्गत खरीफ २०२५ गत एक अक्टोबरदेखि शुरू भएको र ३१ अक्टोबरसम्म सबै जिल्लाहरूमा सञ्चालन गरिने बताए। यस अभियानको मुख्य उद्देश्य प्रधानमन्त्रीद्वारा शुरू गरिएको योजना र नीतिहरू किसानहरूको घर दैलौमा पुऱ्याएर उनीहरूलाई सचेत गराउनु रहेको बताइन्। सोही प्रकारले विभागका सचिव जिग्मी दोर्जी भोटियाले सिक्किम राज्यले योजनालाई महत्व दिँदै विभिन्न प्रकारको गतिविधि आयोजना गर्दै आइरहेको बताए। विशेष गरेर यस योजनाबाट लाभ उठाउन चाहने कृषकहरूले नामाङकन प्रक्रियालाई अघि बढाउनु पर्ने सुझाउ दिए। उनले राज्यमा यस योजना कार्यान्वयन गर्न उपनिर्देशक रचना गुरूङको नेतृत्वमा गरिएको कामको प्रंशसा गरे।