गान्तोक: खाम्दोङ सिङतामकी छोरी प्रभा गजमेर गत २० देखि २४ अक्टोबरसम्म हरियाणाको मधुवनस्थित प्रहरी एकाडेमीमा आयोजित ७४औँ अल इन्डिया पुलिस रेस्लिङ क्लस्टर २०२५-२६ को बक्सिङ प्रतियोगितामा रजत पदक विजेता बनेकी छन्। उनले ५१ किलोग्राम तौल बराबरमा उपाधि हासिल गरेको हो। यसअघि उनले सिक्किम राज्यलाई प्रतिनिधित्व गर्दै आएकी थिइन् भने उनी अहिले सीआरपीएफमा कार्यरत छन्। सीआरपीएफ भर्नापछि उनले उक्त पदक प्राप्त गरेकी हुन्।
आज उनले क्षेत्र विधायक एनबी दाहाल, खेलकुद मन्त्री राजु बस्नेत, सिक्किम एमेच्युर बक्सिङ एसोसिएसनका अध्यक्ष जसलाल प्रधान अनि कोच प्रितम सिलालसँग भेट गरिन्। भेटका क्रममा यस उपलब्धिका लागि बधाई दिँदै शुभकामना व्यक्त गरे। गजमेरले यसअघि सिक्किमलाई बक्सिङ क्षेत्रमा धेरै प्रतिनिधित्व गरिसकेकी थिइन् भने सीआरपीएफमा कार्यरत भएपछि यसरी पदक प्राप्त गर्दा गौरव र प्रेरणा प्राप्त भएको बताइन्।