सोनादा: अविरल वर्षाका कारण पहाडका अन्य विभिन्न ठाउँहरूसँगै रङ्बुल धोतरिया रङमुक समष्टि अन्तर्गत मिलिङ अनि सिडर्स क्षेत्रमा पनि पैह्रोले व्यापक क्षति पुऱ्याएको छ। विभिन्न स्थानहरूमा पैह्रोका कारण सडकमार्ग बाधित बनेको छ। आईतबार बिहानदेखि जीटीएका डेपुटी चेयरम्यान एवं क्षेत्रीय सभासद राजेस चौहानले विभिन्न स्थानहरूमा पुगेर भ्रमण निरीक्षण गर्दै पैह्रो सोहोर्न अनि जोखिमपूर्ण अवस्थामा रहेका घरका मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने पहल गरिरहेका छन्। यस समष्टिको मिलिङ निवासी मेघराज गुरूङको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको कारण तिनको परिवारलाई सभासद् चौहानको पहलमा नजिकैको सार्वजनिक भवनमा सारिएको अनि राहत सामग्रीहरू प्रदान गरिएको बताइएको छ। त्यसको साथै सिडर्समा अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको लगभग १५ वटा घरहरुलाई गाउँ समाजसँग सर – सल्लाह गरी सभासद् राजेस चौहानद्वारा स्थानीय सार्वजनिक भवनमा अस्थायी रुपमा सारिएको छ भने चाढै स्थायी रुपमा अन्यत्र सार्ने पहल गरिने जीटीए डेपुटी चियरम्यान एवं क्षेत्रीय सभासद चौहानले जानकारी गराएका छन्।

त्यसरी नै धोर्त्रे जाने मेन रोड पनि पैह्रोको कारण बाधित बनेको छ भने जेसीबी लगाएर पैह्रो सफा गर्ने कार्य गरिएको छ। आईतबार बेलुकीसम्म धोर्त्रे जाने मेन रोड खुल्ने अनि यातायात सुचारु हुने बताइएको छ।