दार्जिलिङ: मिरिक उपखण्डको पुटुङ चिया बगानमा मजदुरलाई दिइँदै आएको पानी सुविधा कटौती गरिएको भन्दै विभिन्न श्रमिक संगठन र राजनीतिक दलहरूले संयुक्त रूपमा कडा विरोध जनाएका छन्।
मजदुरहरूको भनाइअनुसार, बगानको शुरुवातदेखि नै हरेक डिभिजनमा “पानिवाला” को व्यवस्था थियो, जसले दैनिक रूपमा श्रमिकलाई आवश्यक पानी उपलब्ध गराउँथे। तर हाल मूल प्रबन्धक विनेस दर्नालको निर्देशनमा यो सुविधा हटाइएपछि बगानभित्र असन्तोष चुलिएको हो।
श्रमिक नेताहरूले भने, “अन्य सहुलियतको कटौतीलाई मजदुरले बुझ्ने कोसिस गरेका छन्, तर पानीजस्तो आधारभूत सुविधा बन्द गर्नु अमानवीय मात्र होइन, यो हाम्रो आत्म–सम्मानसँग जोडिएको विषय हो।”
मजदुरहरूले भविष्यमा सरकारी संयन्त्र वा अन्य वैकल्पिक उपायमार्फत स्थायी व्यवस्था भएमा पानिवालाको पद हटाउन सकिने सुझाव दिए पनि व्यवस्थापनले त्यसलाई बेवास्ता गरेको आरोप लगाइएको छ।
यसैबीच, बगान व्यवस्थापनले हालै जारी गरेको “कार्य स्थगन” सम्बन्धी नोटिसप्रति पनि श्रमिक संगठनहरूले आपत्ति जनाउँदै तुरुन्त फिर्ता लिन माग गरेका छन्।
सामूहिक विज्ञप्तिमा हस्ताक्षर गर्ने नेताहरूमा:
अर्जुन थापा (सीपीआरएम)
कृष्ण तामाङ (बीजीपीएम)
अनिल राई (भाजपा)
रघु तामाङ (टीएमसी)
सुनिल राई (बीजीपीएम)
सनोज भुजेल (बीजीपीएम)