पर्यटन व्यवसायमा सिक्किमे युवाहरूको निम्ति पर्याप्त अवसरः विधानसभा अध्यक्ष
गान्तोक: गत सेप्टेम्बरदेखि शुरू भएको सप्ताहव्यापी टुरिस्ट गाइड ट्रेनिङ कार्यक्रमको आज सफलतापूर्वक समापन भयो। सेलेप ट्याङ्कस्थित सोनम माउन्टनेरिङ इन्सटीट्यूटमा आयोजित सप्ताहव्यापी प्रशिक्षण कार्यक्रमको समापनको अवसरमा सिक्किम विधानसभाका अध्यक्ष एवम आरिथाङ निर्वाचन क्षेत्रका विधायक अरूण उप्रेती मुख्य अतिथिकोरूपमा रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक उप्रेतीले सर्वप्रथम यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिँदै पर्यटकहरूलाई आकर्षित तुल्याउने गतिविधि आयोजना गर्नु पर्ने सुझाउ दिए। उनले सिक्किम राज्यमा पर्यटनको महत्व अधिक रहेको बताउँदै पर्यटनको उत्थान र सेवा सुधारसँगै पर्यटकलाई आकर्षित गर्न सक्ने नयाँ योजनाहरू तयार गर्नु पर्ने आग्रह गरे।

यसका साथै उनले प्रशिक्षार्थीलाई सिक्किमको पर्यटन क्षेत्रलाई बढावा दिने अभिनव विचारहरू विकास गर्नु पर्ने थप सुझाउ दिएका छन्। यस प्रशिक्षण कार्यक्रममा सफलतापूर्वक प्रशिक्षण प्राप्त गर्नेहरूलाई मुख्य अतिथिको वाहुलीबाट प्रमाण पत्र प्रदान गरियो। यसै क्रममा विभागकी विशेष सचिव कर्मा डोमा युत्सोले यस प्रकारको कार्यक्रममा उपस्थिति जनाएकोमा मुख्य अतिथि विधायक उप्रेतीप्रति कृतज्ञता प्रकट गरे। यसरी नै संयुक्त निर्देशक काजी शेर्पाले सप्ताहव्यापी प्रशिक्षण कार्यक्रमबारे संक्षिप्तमा जानकारी गराए। उक्त प्रशिक्षण कार्यक्रममा राज्यका छ वटा जिल्लाबाट कूल 84 जनाले सहभागिता जनाएको जानकारी गराए। प्रशिक्षण कार्यक्रममा महाविद्यालयका विद्यार्थीहरूले पनि अंशग्रहण गरेका थिए भने उनीहरूलाई पहाड चढने विधिबारे अवगत प्रशिक्षण प्रदान गरे।









