खरसाङमा हर्षोल्लासका साथमा‌ सांस्कृतिक फूलपाती शोभायात्रा आयोजना

IMG-20250929-WA0144

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभाग र खरसाङ नगरपालिकाको संयुक्त आयोजनामा खरसाङमा फूलपाती शोभायात्रा निकालिएको छ। उक्त फूलपाती शोभायात्रा खरसाङको रेलवे स्टेशन परिसरबाट शुरु भएर हिल कार्ट रोड हुँदै अस्पताल मोड भएर वर्ध्दमान रोड अनि मोटर स्ट्याण्ड हुँदै सुपर मार्केटस्थित सार्वजनिक भवनमा पुगेर समाप्त भएको छ।

उक्त फूलपाती शोभायात्रामा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुद्वारा विभिन्न सांस्कृतिक झाँकीहरुका साथमा नौमति बाजाको धुनसहित लाखे नृत्यसितै फुलपाती शोभायात्रा निकालिएको थियो।‌ यसपाली खरसाङमा‌ आयोजित फूलपाती शोभायात्राको मुख्य आकर्षणहरुमा विभिन्न सांस्कृतिक झाँकीहरु साथै नौमति बाजाको धुन, लाखे नृत्य र मार हान्न गएका व्यक्तिको‌ ठूलो खुकुरीसहितको दृश्य र विभिन्न संघ संस्थाहरुका सांस्कृतिक नृत्य, मारुनी नृत्य, खुकुरी नृत्य आदि रहेको थियो। खरसाङमा आयोजित फूलपाती शोभायात्राको अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा, पूर्व सांसद शान्ता छेत्री, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, सभासद श्याम शेर्पा, सभासद प्रणाम रसाइली, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री, खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ नगरपालिकाको कार्यकारी अफिसर कैलाश प्रसाद लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए‌।‌

यसपाली फूलपाती शोभायात्रामा‌ विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुले गाउँदै नाच्दै सांस्कृतिक एकता र संस्कृतिको जगेरा र सम्वर्द्धन गर्ने कार्य गरेको देखिएको छ। खरसाङमा‌ आयोजित फूलपाती शोभायात्रा विषयमा आयोजक समितिको सचिव एवं खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले खरसाङमा विभिन्न जात गोष्ठीहरु एकै मञ्चमा आएर फूलपाती शोभायात्रा आयोजना गरिएको बताउँदै यो शोभायात्रा जीटीएको सूचना अनि सांस्कृतिक विभाग र खरसाङ नगरपालिकाको संयुक्त आयोजनामा आयोजना गरिएको बताएका छन्। उनले यसपाली खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुले भाग लिएको र यसपालीको मुख्य आकर्षणको रुपमा नौमति बाजाको धुनसहित लाखे नृत्य, मारुनी नृत्य, खुकुरी नृत्य, विभिन्न जात गोष्ठीका झाँकीहरु रहेको बताएका छन्‌।

उनले फूलपाती शोभायात्रामा‌ सहभागी सबैलाई धन्यवाद दिएका छन्।‌ खरसाङमा‌ आयोजित फूलपाती शोभायात्राले जातीय संस्कृति र परम्परालाई जगेरा गरेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement