गान्तोक: राज्य सरकारको खाद्य प्रशोधन विभागले “समृद्धिको लागि प्रशोधन” विषयलाई लिएर आयोजित ‘वर्ल्ड फूड इन्डिया २०२५’ को चौथो संस्करणमा सहभागिता जनायो। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय खाद्य प्रशोधन उद्योग मन्त्री चिराग पासवानको उपस्थितिमा उक्त कार्यक्रमको उदघाटन गरेका हुन्। वर्ल्ड फूड इन्डिया २०२५ को उद्देश्य भारतलाई खाद्य प्रशोधन र खाद्य आपूर्तिको लागि ‘ग्लोबल फूड बास्केट’ को रूपमा प्रदर्शन गर्नु हो। जसमा केन्द्र र राज्य सरकारका प्रतिष्ठित व्यक्तिहरू, लगानीकर्ताहरू, प्रमुख घरेलु खाद्य कम्पनीहरूका व्यापारिक नेताृत्वहरू र सम्बन्धित सरोकारवालाहरू कार्यक्रममा समावेश थिए। खाद्य उत्पादकहरू, खाद्य प्रशोधनकर्ताहरू, उपकरण निर्माताहरू, कोल्ड चेन खेलाडीहरू, स्टार्ट-अप र नवप्रवर्तकहरू, खाद्य खुद्रा विक्रेताहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले यस कार्यक्रमको शुरू गरिएको हो। उक्त कार्यक्रममा सिक्किम राज्यबाट सम्वन्धित विभागका अधिकारीहरू, लाभार्थीहरू, उद्यामीहरूले सहभागिता जनाएका थिए। जसको नेतृत्व विभागकी सचिव ज्योत्सना एम कार्थोक, संयुक्त सचिव नबिता प्रधान लगायत अन्यहरूले पनि सामेल रहेका थिए।