नाम्ची: राष्ट्रव्यापी सेवा पखवाडा पहलको एक भागको रूपमा नाम्ची जिल्लाले सेवा, स्वास्थ्य, पर्यावरण र आत्मनिर्भरतालाई संरक्षण गर्ने उद्देश्यले दुई दिवसीय कार्यक्रम आयोजन गऱ्यो। खेलकुद तथा युवा मामिला विभागको पहलमा आयोजित कार्यक्रममा विभिन्न प्रकारका गतिविधिहरूलाई समावेश गरिएको थियो। जसअन्तर्गत युवाहरूमा फिटनेस, अनुशासन, सरसफाइ र लागूपदार्थमुक्त जीवन शैलीलाई बढावा दिने उद्देश्यले एथलेटिक प्रतियोगिताहरू र सामाजिक जागरूकता कार्यक्रमहरू सामेल गरेको थियो। कार्यक्रमको पहिलो दिन बक्सिङ, आर्चेरी, ताइक्वाण्डो र सरसफाई कार्यक्रम आयोजन गरिएको थियो। दोस्रो दिनको कार्यक्रममा १५ वर्षभन्दा कम उमेरका किशोरहरूको निम्ति फुटवल प्रतियोगिता र कराँतेको आयोजना गरिएको थियो। नशालुपदार्थको रोकथाम र स्वस्थ जीवनशैलीमा केन्द्रित नशामुक्त सिक्किम अभियानअन्तर्गत जागरूकता कार्यक्रम पनि आयोजना गरिएको थियो। यस अवसरमा नाम्ची जिल्लाका युवा खेलाडीहरू, विद्यार्थीवर्ग र स्वयंसेवकहरूले सहभागिता जनाएका थिए। फिटनेस र खेलकूदलाई प्रवर्द्धन गर्नको साथै, यस पहलले स्वस्थ, सशक्त समाज निर्माण गर्न सरसफाइ, पर्यावरणमाथि जिम्मेवार हुनुपर्ने सन्देश दिइयो।