गान्तोक: सिङताम जिल्ला अस्पतालले हिजो सिङताम पुलिस र सिङताम नगर पञ्चायतको सहयोगमा सिङताम बजारको विभिन्न दोकानहरूको निरीक्षण गऱ्यो। विशेष गरेर कोप्टा ऐन २००३ अन्तर्गत दोकानहरूको निरीक्षण गरिएको हो। निरीक्षणको क्रममा धेरै दोकानेहरूले कोप्टा ऐनको उल्लङ्घन गरेको थाहा पाएपछि जरिमाना गराइएको छ। शैक्षिक संस्थानदेखि एकसय मिटरमा तम्बाकु, सिग्रेट र मदिरा बिक्री गर्न निषेध रहे तापनि कतिपय दोकानले बिक्री गरेको फेलापारेपछि जरिमाना तिराएको छ। यस अवसरमा निरीक्षण टोलीले कूल २३ हजार रूपियाँ विभिन्न दोकानहरूबाट जरिमाना संग्रह गरेको छ। सुर्तीजन्य पदार्थको उपयोगलाई नियन्त्रण गर्न र यसको सेवनले मानिसहरूमा पुऱ्याउने हानिबारे जनचेतना फैल्याउने उद्देश्यले निरीक्षण गरिएको हो। यस प्रकारको पहलहरूले सामुदायिक स्वास्थ्यको सुरक्षा गर्न र सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न महत्त्वपूर्ण भूमिका खेल्नसक्ने बताइएको छ।