नयाँ दिल्ली: भारतविरुद्ध टेस्ट सीरीज अघि वेष्ट इण्डिजलाई ठूलो झट्का लागेको छ अनि उनीहरूका प्रमुख पेस बलर शमार जोसेफ २ वटा टेस्ट म्याचको सीरीजबाट बाहिर भएका छन्। शमारले चोटले गर्दा यस सीरीजमा हिस्सा लिन सक्नेछैनन् अनि क्रिकेट वेष्ट इण्डिजले उनको स्थानमा अनक्याप्ड अलराउण्डर जोहानन लेनलाई टीममा सामेल गरेको छ। भारत र वेष्ट इण्डिजबीच सीरीजको पहिलो म्याच २ अक्टोबरदेखि अहमदाबादमा खेलिनेछ। क्रिकेट वेष्ट इण्डिजले सोशल मीडियामा लेखेको छ, भारतविरुद्ध सीरीजको निम्ति शमार जोसेफको स्थानमा जोहानन लेन टीमको हिस्सा हुनेछन्। जोसेफ चोटले गर्दा बाहिर भएका छन् अनि बंग्लादेशविरुद्ध सीमित ओभरहरूका सीरीज अघि फेरि उनको चोटको जाँच गरिनेछ। क्रिकेट वेष्ट इण्डिजले जोसेफको चोटबारे विस्तृत जानकारी चाहिँ दिएको छैन। भारतविरुद्ध महत्त्वपूर्ण सीरीजको निम्ति जोसेफ टीममा नहुनु चाहिँ वेष्ट इण्डिजको निम्ति ठूलो झट्का हो। अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पणपछि जोसेफ आफ्नो छाप छोड़्न सफल भएका छन् अनि अहिले उनी टीमका महत्त्वपूर्ण सदस्य हुन्। जोसेफले ११ वटा टेस्ट म्याचमा ५१ विकेट लिएका छन् अनि उनको इकोनमी रेट पनि असल रहेको छ। यसरी टीममा जोसेफको स्थान लिने लेन पेस बलिंग अलराउण्डर हुन्। उनले १९ वटा प्रथम श्रेणीको म्याचमा २२.२८-को औसतले ६६ विकेट लिनको साथै ४९५ रन पनि बनाएका छन्।
वेष्ट इण्डिजले भारतविरुद्ध यस सीरीजको साथ वर्ल्ड टेस्ट च्याम्पियनशीप २०२५-२७ चक्रको शुरुवात गर्नेछ। यस सीरीजमा रोस्टन चेसले टीमको कप्तानी गर्नेछन् जबकि जोमेल वरिकन उपकप्तान हुनेछन्। चयनकर्ताहरूले ३३ वर्षीय अलराउण्डर खेरी पियरेलाई पहिलोपल्ट टेस्ट टीममा सामेल गरेका छन्। वेष्ट इण्डिजको गत भारत यात्रा (२०१८)-मा टीमको कप्तानी गर्ने क्रेग ब्रेथवेटले यस साल मार्चमा कप्तानी छोड़ेका थिए। अष्ट्रेलियाविरुद्ध ३ वटा टेस्ट म्याचको घरेलु टेस्ट सीरीजमा निराशाजनक प्रदर्शनपछि उनलाई भारतविरुद्ध सीरीजको निम्ति टीममा सामेल गरिएन।
भारतविरुद्ध सीरीजको निम्ति वेष्ट इण्डिजको टेस्ट टीम यसप्रकार रहेको छः रोस्टन चेस (कप्तान), जोमेल वरिकन (उपकप्तान), केवलोन एण्डरसन, एलिक अथानाजे, जन क्याम्पबेल, तेगनारायण चन्द्रपल, जस्टिन ग्रिव्स, शाई होप (विकेटकीपर), तेविन इमलाच, अल्जारी जोसेफ, जोहनन लेन, ब्रेण्डन किंग, एण्डरसन फिलिप, खारी पियरे, जेडन सील्स।