गान्तोक: सिक्किमका विभिन्न रैथाने भाषाहरू राई, गुरुङ, शेर्पा, तामाङ, मगर, मुखिया, नेवार, भुजेल तथा नेपालीको प्राथमिक तहका लागि शिक्षण मोड्युल तयारीसम्बन्धी तीन दिने कार्यशाला २२ देखि २४ सेप्टेम्बर २०२५ सम्म सफलतापूर्वक सम्पन्न भयो। कार्यशालामा स्रोतवक्ताहरूले मोड्युल विकासका लागि आफ्नो योजना र रूपरेखा प्रस्तुत गरे। जसमा प्रमुख प्रस्तोताको रूपमा त्रिभुवन ढकाल, स्नातकोत्तर शिक्षक गीता शर्मा, उपनिर्देशक तथा सीइओ पाकिम, लारिसा लेप्चा, एससीईआरटी र दुर्गा श्रेष्ठ, व्याख्याता, डीआइटीई गान्तोक रहेका थिए। कार्यशालामा श्रोतवक्ताहरूले दिएको प्रस्तुती शिक्षण योजना तथा इकाइ योजनाको विकासमा केन्द्रित थियो। जसमा भाषा सीपहरू बोल्ने, पढ्ने र लेख्ने समावेश गरिएका थिए। यसकासाथै सामग्री तयारी र साहित्यका पक्षहरू, सन्दर्भ सामग्रीहरूको समीक्षा, मुख्य विषयवस्तु र उपविषयहरूको पहिचान, पाठ्यक्रम मिलान, तथा उपयुक्त गतिविधिसहित पाठ योजना तयार गर्ने कार्यमा पनि जोड दिइएको थियो। अर्को छलफलहरूमा सिकाइ परिणाम निर्धारण, मोड्युलको ढाँचा तयार गर्ने, सम्पादन तथा परिमार्जन कार्यपत्र, चित्रहरू तथा सान्दर्भिक उदाहरणहरूजस्ता शिक्षण अधिगम सामग्रीहरू निर्माण गर्ने विषय समेटिएका थिए। प्रत्येक भाषा समूहले आफ्नो समूहगत मोड्युल पनि प्रस्तुत गरेका थिए। कार्यशालामा जम्मा २७ जना सदस्यले यस कार्यशालामा सहभागिता जनाए। सिक्किम राज्य रैथाने भाषा बोर्डका प्रभारी तथा उपनिर्देशक सुधा राईले वरिष्ठ पाठ्यपुस्तक अधिकृतहरू, सहायक पाठ्यपुस्तक अधिकृतहरू तथा भाषा शिक्षकहरूको सक्रिय सहभागिता रहेको उल्लेख गर्दै यस कार्यशालाको आयोजन शिक्षा विभाग अन्तर्गतको सिक्किम राज्य आदिवासी भाषा बोर्डले गरेको जानकारी दिए। राईले यस पहल राष्ट्रिय शिक्षा नीतिका लक्ष्यहरूअनुरूप भएको बताउँदै, कक्षा १ देखि ८ सम्मका लागि संरचित शिक्षण मोड्युलहरू तयार गर्ने आधार यसले स्थापित गरेको जानकारी दिए। यो कार्याशालामा सहभागी सदस्यहरूले राज्यभरिका शिक्षकहरूलाई प्रशिक्षित गररेर नयाँ प्रशिक्षकहरू तयार पार्ने छन्।