खरसाङ: खरसाङको गौरी शंकर चियाबारी अन्तर्गत डाँडा गाउँमा आगलागीमा एक घर जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ। उक्त घर स्थानीय गणेश छेत्रीको रहेको र आगलागी भएर उनको घर सबै जलेर खरानी बनेको बताइएको छ। उक्त आगलागीको घटना आज दिउँसो लगभग २:४५ बजीतिर भएको बताइएको छ। उक्त आगलागीको घटना सुन्नासाथ खरसाङ पुलिस थानाबाट एसआई सागर प्रधानको अगुवाईमा पुलिसहरु र अग्निशमन केन्द्रबाट कर्मचारीहरु घटना स्थलमा पुगेको जानकारी प्राप्त भएको छ। एसआई सागर प्रधानले दिएका जानकारी अनुसार सर्ट सर्किट भएर लागेको आगोले घर पूर्ण रूपमा नष्ट भएको र यस दुःखद घटनामा घरमा रहेको सबै सम्पत्ति, गरगहना र कागजातहरू जलेर नष्ट भएको जानकारी गराएका छन्। उनले यस आगलागीमा गणेश छेत्री र उनकी पत्नी भान्सा घरमा रहेको र दिउँसो २:४५ बजीतिर अचानक आगलागी भएर ठूलो जलेर नष्ट भएको अनि यस आगलागीमा गणेश छेत्रीकी पत्नी लक्ष्मी छेत्रीलाई आगोले केही पोलेको बताएका छन्।

उक्त आगलागीको घटना सुन्नासाथ खरसाङ अग्निशमन केन्द्रबाट दमकलको गाडी समयमै पुगे पनि बाटो नभएको कारणले घरसम्म पुग्न नसकेको तर अग्निशमन केन्द्रको कर्मचारीहरु र स्थानीय गाउँलेहरूको प्रयासले आगो नियन्त्रणमा आएको बताइएको छ। यस आगलागीमा गणेश छेत्रीको घरभित्र रहेको कुनै पनि सामान निकाल्न नपाएको बताइएको छ।