यसपाली पनि आफ्ना खेलाडीहरुलाई बोनस वितरण
खरसाङ: स्थानीय युवा फुटबल खेलाडीहरुलाई पेशादार फुटबलको लागि असल मञ्च प्रदान गर्दै आईरहेको छ युनाईटेड खरसाङ फुटबल क्लबले। युकेएफसी खरसाङले प्रत्येक वर्ष खेलाडीहरुलाई पेशादार फुटबल खेलाडीको गोरेटोमा अघि लिएर गईरहेको छ भने वर्षेनी आफ्ना खेलाडीहरुलाई बोनस पनि वितरण गर्दै आईरहेको छ।

यसै क्रममा यसपाली पनि युकेएफसीले दशैँको लागि बोनस वितरण कार्य सम्पन्न गरेको छ। युकेएफसी खरसाङले स्थानीय फुटबल प्रेमी खेलाडीहरूलाई प्रत्येक दिन प्रशिक्षण दिनुको साथै दार्जिलिङ, सिलगढी, नेपाल, भूटान आदि स्थानीय, राज्य स्तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्लबको माध्यमबाट खेल प्रतियोगिताको निम्ति लाने गरिरहेका छन्।

आजसम्म युकेएफसी खेलाडीहरूले कतिपय खेलमा जित हाँसिल गरिसकेका क्लबका प्रशिक्षक उगेन लामाले बताएका छन्। यति मात्र नभएर खेलाडीहरूलाई केवल खेल खेल्नु मात्र होइन उनीहरूलाई विभिन्न सहुलियतहरू पनि दिने गरेकाले युवा खेलाडीहरूलाई आर्थिक रूपमा पनि धेरै सहयोग पुग्न सकेका छन्। यसै अवसरमा नेपालीहरूको महान् पर्व दशैको उपलक्ष्यमा खेलाडीहरूलाई क्लबले बोनस पनि वितरण गरेर खेलाडीहरूको मनोबल बढाउन तथा पारिवरिक समस्याको समाधानमा ठूलो पहल गरेको छ।

युकेएफसी खरसाङको क्लब परिसरमा क्लबका प्रशिक्षक उगेन लामा, मेघराज थापा, उज्ज्वल लामा, राजु तथा अन्य पदाधिकारीको उपस्थितिमा खेलाडीहरूलाई दशैको बोनस साथै इन्सेन्टिप वितरण गरे।क्लबका पदाधिकारीहरुले बताए अनुसार गत केही दिन अघि मात्र युकेएफसीले वीरपाडामा भएको एमपी कप फुटबल खेलमा एमपी कप जितेको थियोे भने कालेबुङमा सम्पन्न शहीद गोल्ड कपको फाइनलमा पुगेर उप विजेता बनेका थिए।