नाम्ची: जिल्ला विकास समन्वय तथा अनुगमन समिति (दिसा) को त्रैमासिक बैठक आज नाम्ची टाउन हलमा बस्यो। लोकसभा सांसद इन्द्रहाङ सुब्बाको अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै सुब्बाले समितिको मुख्य उद्देश्य जिल्लाले सामना गरिरहेका समस्याहरूको व्यावहारिक समाधान खोज्नुपर्ने बताए। उनले मल्ली–सिङ्ताम वैकल्पिक राजमार्गको निर्माण कार्यलाई दीर्घकालीन हितमा रहेको बताउँदै पञ्चायत सदस्यहरूलाई जनचेतनामूलक भूमिकामा सक्रिय हुन आग्रह गरे। उनले योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि विभागीय सहकार्यलाई अपरिहार्य बताउँदै केन्द्र, राज्य र जिल्ला प्रशासनबीच सम्बन्ध बलियो ६बनाउने सल्लाह दिए। जिल्लापाल अनुपा ताम्लिङले जिल्लामा प्राप्त उपलब्धिहरू र चुनौतीहरूबारे बताइन्। उनले ५०० पलङयुक्त जिल्ला अस्पताल सञ्चालनमा आइसकेको र २६ सेप्टेम्बरमा मुख्यमन्त्रीद्वारा उद्घाटन हुने जानकारी दिइन्। बैठकमा विभिन्न विभागीय प्रमुखहरूले पीएम आवास योजना, जल जीवन मिशन, पीएम ग्राम सडक योजना, पीएम कृषि सिँचाइ योजना, र मनरेगा लगायतका योजनाहरूको प्रगतिबारे जानकारी गराए। बैठकमा सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापा, जिल्ला पञ्चायत जनप्रतिनिधि, सल्लाहकार, अध्यक्षहरूको उपस्थिति थियो।