गान्तोक: इम्फालका केन्द्रीय कृषि विश्वविद्यालयका उपकूल पति डा. अनुपमा मिश्रले आज राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। भेटको क्रममा उपकूलपति मिश्रले राज्यपाललाई आगामी २५ सेप्टेम्बरको दिन नाम्ची जिल्लाअन्तर्गत बर्मेकमा निर्मित बागवानी महाविद्यालयको प्रशासनिक अनि एकाडेमिक वार्षिक क्षेत्रीय कार्यशालाको उदघाटन अवसरमा निमन्त्रणा गरे। उनले राज्यपाललाई कृषि तथा बागवानी शिक्षा, अनुसन्धान र विस्तार गतिविधिहरूलाई प्रवर्द्धन गरिएको विभिन्न प्रकारको पहल साथै हालसम्म हासिल गरेको उपलब्धिहरूबारेमा जानकारी गराए। उनले सिक्किममा विश्वविद्यालयले गरेको शैक्षिक प्रगतिबारे जानकारी दिए। राज्यपालले विश्वविद्यालयलाई क्षेत्रीय कृषि चुनौतीहरूलाई सम्बोधन गर्न र कृषि समुदायलाई सशक्त बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। यस अवसरमा उपकूलपतिसँगै बागवानी महाविद्यालयका डीन डा. एके पाण्डे लगायत अन्य सदस्यहरू पनि सामेल रहेका थिए।