सोरेङ: केन्द्रीय कृषि एवं किसान विकास राज्यमन्त्री भगीरथ चौधरीले सिक्किम राज्यको कृषि विकासंमाथि खुलेर प्रशंसा गर्दै राज्यले जैविक खेतीकोरूपमा विश्वमै पहिचान बनाएको मन्तव्य राखेका छन्। राज्यमन्त्रीले भनेअनुसार किसान देशको आत्मा हो, जबसम्म किसान खुशी हुँदैनन् तबसम्म देश विकसित बन्न सक्दैन्। केन्द्रीय कृषि एवं किसान राज्यमन्त्रीले भारत सरकारले कृषकहरुको आयस्रोत बढाउन, उत्पादक बढाउन साथै कृषिलाई आधुनिक बनाउन धेरैवटा केन्द्रीय योजना सञ्चालन भइरहेको बताउँदै उक्त योजनाहरुबाट सोझै फाइदा र वित्तीय सहायता प्रदान गरिरहेको बताए। केन्द्रीय राज्यमन्त्री चौधरी आज सोरेङ जिल्लाको विभिन्न स्थानको भ्रमणमा थिए। तीन दिवीसीय सिक्किम भ्रमणको लागि आएका केन्द्रीय राज्यमन्त्री चौधरीले पूर्वोत्तर सम्पर्क सेतु कार्यक्रमअन्तर्गत आज सोरेङस्थित रुर्बन कम्प्लेक्समा विभागीय अधिकारीको उपस्थितिमा कृषक, स्वयं सहायता समूह, एफपीओ प्रतिनिधिहरुसँग अन्तर्क्रिया गरे। राज्यमन्त्रीले सोरेङ जिल्लाको सिङलिङ गुम्बा डाँडा, ओगेङ र शिरिबदमको भ्रमण गरे। सोरेङमा आयोजित अन्तर्क्रिया कार्यक्रममा केन्द्रीय राज्यमन्त्रीको साथमा विधायक इरुङ तेन्जिङ लेप्चा, जिल्ला पञ्चायत अध्यक्ष तिलादेवी गुरुङ, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव इरश लेप्चा, जिल्लापाल धीरज सुवेदी, जिल्ला तथा ग्राम पञ्चायत प्रतिनिधिहरु, विभागका अधिकारीगण र संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। कार्यक्रममा जिल्लापाल धीरज सुवेदीले आकांक्षी जिल्ला सोरेङमा सञ्चालित योजना कार्यान्वयनबारे बताए। उनले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा अवगत गराएका हुन्। यसरी नै कृषि विभागका उप-निर्देशक मनिष प्रधानले सोरेङ जिल्लाभित्र विभागले हासिल गरेका उपलब्धी र सञ्चालित कार्यक्रमबारे जानकारी गराएका थिए।