प्रदेश भाजपा अध्यक्षकाे केन्द्रीय मन्त्री गडकरीसँग भेट

IMG-20250924-WA0138

गान्तोक: सिक्किम भाजपा अध्यक्ष डीआर थापाले आज नयाँ दिल्लीमा केन्द्रीय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग भेट गरी सिक्किमको पूर्वाधार र सम्पर्क समस्या समाधानका विषयमा छलफल गरे। बैठकमा थापाले २०२३ को ग्लेशियल लेक आउटबर्स्ट फ्लड (ग्लफ) र वर्षायामका कारण बारम्बार क्षति हुँदै आएको राष्ट्रीय राजमार्ग १० को तत्काल पुनःस्थापना आवश्यक रहेको अवगत गराए। उनले ढलान स्थिरीकरण, मार्ग पुनःसंरेखण, तथा एनएचआइडीसीएल र राज्यबीच प्रभावकारी सहकार्यलाई प्राथमिकता दिन आग्रह गरे। साथै, विश्वसनीय सम्पर्कका लागि सिङताम–सेभोक वैकल्पिक राजमार्गको प्रस्ताव पनि राखे।
भाजपा प्रदेश अध्यक्ष र केन्द्रीय मन्त्री बीचको भेटवार्तामा उत्तर सिक्किमको सम्पर्क पुनःस्थापना अर्को प्रमुख एजेन्डा रहेको थियो। १४ वटा पुल र राजमार्ग क्षतिग्रस्त भएपछि चुङथाङ, लाचेन, लाचुङ, र जङ्गु अलग्गिएको उल्लेख गर्दै उनले पर्यटन र स्थानीय आजीविकामा गम्भीर असर परेको बताए। यसको साथै थापाले दिगो पुनर्निर्माणका लागि एनएचआइडीसीएल र बीआरओ-को विशेषज्ञता प्रयोग गर्ने माग पनि गरे।
यसरी नै राजधानी गान्तोकमा बढ्दो ट्राफिक जामलाई समाधान गर्न डीआर थापाले रिङ्ग रोड़ परियोजना अघि सारे। उनले दैनिक ३-४ घण्टासम्मको ट्राफिक समस्याले विद्यार्थी, व्यवसाय, पर्यटन र सुरक्षामा असर गरेको बताउँदै तत्काल सम्भाव्यता अध्ययन र बजेट सुनिश्चित गर्न आग्रह गरे।
यस प्रसंगमा केन्द्रीय मन्त्री गडकरीले केन्द्र सरकारले उठाएका मुद्दाहरू समाधानमा प्रतिबद्ध रहेको र विभिन्न परियोजनाहरू अघि बढाइरहेको आश्वासन दिनुभयो।
अर्कोतिर भाजप सिक्किमले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा राज्यको दिगो विकासमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement