खरसाङ: खरसाङ ट्राफिक पुलिसको आयोजनामा दिलरामको सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयमा सेभ ड्राइभ सेफ लाइभलाई लिएर सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त सचेतना कार्यक्रमलाई खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्रीको अगुवाईमा सम्पन्न भएको छ। कार्यक्रममा सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयको प्रधानाध्यापक अनिल शर्मा, ट्राफिक पुलिसका अधिकारीहरु, सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालय र साई सुन्दरम स्कूलका शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो। यस सचेतना कार्यक्रमलाई खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्रीले आफ्नो सम्बोधनमा ट्राफिक सचेतना विषय लगायत साईबर क्राइम, ड्रग्स रोकथामको लागि सचेतना, ट्राफिक सुरक्षा आदि विषयमा सचेतना गराएका थिए।

उनले युवा विद्यार्थीहरुलाई ट्राफिक विषयमा सचेत रहने र एकजना जिम्मेवार नागरिक बन्ने साथै व्यवहारिक ज्ञान लिनु पर्ने बताएका छन्। उनले ट्राफिक सुरक्षाको लागि विभिन्न विषयहरुमा विद्यार्थीहरुलाई सचेतना गराएका थिए। कार्यक्रमपछि पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले कार्यक्रम विषयमाबोल्दै दार्जिलिङ जिल्ला पुलिस अधिकारीको निर्देशनमा आज खरसाङको दिलरामस्थित सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको र यस कार्यक्रममा सन्त जेभियर्स र साई सुन्दरम स्कूलका शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुले सहभागिता जनाएको बताए। उनले यस सचेतनामूलक कार्यक्रम अन्तर्गत सेभ ड्राइभ सेफ लाइभ, रोड सुरक्षा, ड्रग्स रोकथामको लागि सचेतना, एटीएम फ्रड, साईबर क्राइम साथै ट्राफिक सुरक्षा विषयमा सतर्कता रहने विषयमा जानकारी गराइएको बताए। उनले कार्यक्रममा दुई चक्के र चार चक्के वाहनहरु कुदाउँदा अनिवार्य रुपमा चाहिने कागज पत्रहरु जुन भ्यालिट हुनु पर्ने जानकारी गराएको र स्कुटी बाइकहरु र गाडी चलाउँदा रोडमा हिँड्ने मानिसहरुको सुरक्षालाई ध्यानमा राखेर कुदाउनु पर्ने बताएको जानकारी गराए।

खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले दुई चक्के गाडी कुदाउँदा अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने, पछि बस्नेले पनि अनिवार्य रुपमा हेलमेट लगाउनु पर्ने र तीनजना राखेर नकुदाउने सुझावहरुसहित सचेतना गराइएको बताए। उनले स्कूल र अस्पताल परिसरतिर वाहनहरु विस्तारै कुदाउनु पर्ने र गाडी, स्कुटी बाइकहरु कुदाएको बेला मोबाइल फोन प्रयोग नगर्ने सुझाव पनि राखेका छन्।