वरिष्ठ नाट्य कलाकार जीवन गुरुङ दोस्रो मनबहादुर गुरुङ स्मृति सम्मानद्वारा सम्मानित

IMG-20250924-WA0118

सोनादा: दार्जिलिङका वरिष्ठ नाटककार एंव नाट्य कलाकार जीवन गुरुङलाई दोस्रो मनबहादुर गुरुङ स्मृति सम्मान प्रदान गरिएको छ। भारतीय नेपाली साहित्यका एक वरिष्ठ साहित्यकार, नाटककार, लोक संगीतकार, व्यङ्ग्यकार स्वर्गीय मनबहादुर गुरुङको स्मृतिमा गठित स्वर्गीय मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाले प्रत्येक वर्ष मनबहादुर गुरुङ स्मृति अन्तर विद्यालय तर्क प्रतियोगिता सम्पन्न गर्नाका साथै कुनै एकजना भारतीय नेपाली विशिष्ट नाटककारलाई मनबहादुर गुरुङ स्मृति नाट्य सम्मान प्रदान गर्ने कार्यक्रम गर्दै आइरहेको छ। यस वर्ष पनि सोनादा डिग्री कलेज अनि स्वर्गीय मनबहादुर गुरुङ स्मृति प्रतिष्ठानको तत्वावधानमा सोनादास्थित न्यु लाइट क्लबको प्रेक्षागृहमा मनबहादुर गुरुङ स्मृति अन्तर विद्यालय तर्क प्रतियोगिता साथै दार्जीलिङका विशिष्ट नाटककार जीवन गुरुङलाई मनबहादुर गुरुङ स्मृति नाट्य सम्मानले सम्मानित गरिएको छ‌। उक्त कार्यक्रम मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाको संयोजक प्राध्यापक मेघनाथ छेत्रीको अध्यक्षतामा साथै वरिष्ठ साहित्यकार एंव नाटककार नन्द हाङखिमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा हरिबहादुर मुखिया, देवकुमार प्रधान, बुध्द संगम, थिलेन लामा लगायत अन्यहरु उपस्थित रहेका थिए। अतिथिहरुका बाहुलीबाट साहित्यकार मनबहादुर गुरुङको तस्वीरमा धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा युवा कवि नरेश कटुवाल अनि बुध्द राईले सञ्चालन गरेका थिए।कार्यक्रममा स्वागत सम्भाषण मनबहादुर गुरुङकी सुपुत्री एंव मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाको तर्फबाट मञ्जरी गुरुङले राखेकी थिइन्। यसै कार्यक्रममा मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाको पक्षमा दार्जिलिङका वरिष्ठ नाट्य कलाकार जीवन गुरुङलाई दोस्रो मनबहादुर गुरुङ स्मृति सम्मान प्रदान गरिएको छ। यस अवसरमा उनलाई मुख्य अतिथिको रुपमा उपस्थित वरिष्ठ साहित्यकार एंव नाटककार नन्द हाङखिम र अन्य अतिथिहरुका बाहुलीबाट खदार्पणसहित टोपी, दोसल्ला, स्मृति चिन्ह, सम्बर्ध्दना पत्र प्रदान गरेर सम्मान जनाइएको छ। जीवन गुरुङले 70 को दशकदेखि नाटक लेखन, निर्देशन, मञ्चन, अभिनय, निर्माता रहेको छन्। यसै कार्यक्रममा मनबहादुर गुरुङ स्मृति अन्तर विद्यालय तर्क सभाको पनि आयोजना गरिएको छ। यस तर्क सभामा सोनादा क्षेत्रका विद्यालयहरु क्रमैले होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालय शान्तिरानी उच्चतर माध्यमिक विद्यालय, ग्रिन हिल अंग्रेजी स्कूल, सोनादा उच्चत्तर माध्यमिक विद्यालय, न्युटन्स माइन्ड अंग्रेजी स्कूल, साई‌‌सुन्दरम विद्यालय आदिले भाग लिएका‌ थिए‌। यस तर्क सभाको निर्णायकहरुमा रोशन राई, विवेक मिश्र, बिजयता सुब्बा आदि रहेका थिए। यस तर्क प्रतियोगितामा प्रथम न्युटन्स माइन्ड अंग्रेजी स्कूल, दोस्रो होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालय भएका छन् भने बेस्ट स्पिकरमा सोनादा उच्चत्तर माध्यमिक विद्यालयले प्राप्त गरेको छ। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार नन्द हाङखिम र सम्मानित व्यक्तित्व वरिष्ठ नाट्य कलाकार जीवन गुरुङले वक्तव्य राखेका थिए। कार्यक्रममा प्रोजेक्टरको माध्यमबाट साहित्यकार मनबहादुर गुरुङको परिचय प्रस्तुत गरिएको थियो‌।

यसै कार्यक्रममा सोनादा क्षेत्रका वरिष्ठ नाटककार हरिबहादुर मुखियालाई सम्मान जनाइएको छ भने प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ साहित्यकार एंव नाटककार नन्द हाङखिमलाई पनि आयोजक समितिको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा अध्यक्षीय सम्भाषण एंव धन्यवाद ज्ञापन कार्यक्रमको अध्यक्ष प्राध्यापक मेघनाथ छेत्रीले राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement