बिर्तामोड: जेनजी आन्दोलनकाे क्रममा प्रदर्शनकारीहरूबाट फिर्ता पाएको ७५ थान हतियार नेपाली सेनाले झापा प्रहरीलाई बुझाएको छ। प्रदर्शनकारीले प्रहरी कार्यालयहरूमा आगजनी गर्दै लुटिएका दमक क्षेत्रबाट ३५ र बिर्तामोड क्षेत्रबाट ४० थान हतियार फिर्ता गरेकाे हो।
दमक र झिलझिले क्षेत्रबाट ७.६२ मिमि एसएलआर ४ थान, ५.५६ मिमि इन्सास राइफल १० थान, ३०३ राइफल १२ थान, सट गन ३ थान, ग्यास गन २ थान, ९ मिमि पेस्तोल १ थान र चाइनिज पेस्तोल ३ थान गरी जम्मा ३५ थान हतियार २१ नं बाहिनी तोपगाछीले आन्दोलनकारीबाट बुझेर प्रहरीलाई फिर्ता दिएको थियो।
त्यस्तै बिर्तामोड, दुर्गापुर र शनिश्चरे एरियाबाट ७.६२ मिमि एसएलआर ७ थान, ५.५६ मिमि इन्सास राइफल १६ थान, ३०३ राइफल ६ थान, सट गन २ थान , ग्यास गन ४ थान, ९ मिमि एसएमजी ३ थान र रिभल्वर पेस्तोल २ थान गरी जम्मा ४० थान हतियार अरिदमन गण चारआलीले बुझेर प्रहरीलाई फिर्ता दिएको थियो।
त्यति हतियार फिर्ता गरेपनि झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार, ५६९० वटा गोली र १८० सेल अश्रुग्यास गायव भएको छ।
आन्दोलनकारीहरुले इलाका प्रहरी कार्यालय बिर्तामोड र इलाका प्रहरी कार्यालय दमकबाट लुटेका विभिन्न हतियार फिर्ता गरेपनि त्यति हतियार फिर्ता नगरेको प्रहरी स्रोतले जनाएको छ।
इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका लामो हतियार(एसएलआर)-१४ थान र त्यसको गोली ४ हजारभन्दा बढी, सानो हतियार(पेस्तोल–रिभल्वर)-२ थान र त्यसमा लोड गरिएको ४० राउण्ड गोली, सटगन÷ग्यासगन- ४ थान र त्यसको १८० सेल ग्यास फिर्ता गरिएको छैन।
त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका लामो नाल(एसएलआर)-१ थान र त्यसको १५०० भन्दा बढी गोली, सानो हतियार( पेस्तोल–रिभल्वर)-३ थान र त्यसमा प्रयोग हुने १५० भन्दा बढी राउण्ड गोली फिर्ता नगरी गायव बनाइएको प्रहरी स्रोतले जनाएको छ।