गेजिङ: आगामी २७ सेप्टेम्बरको दिन मलेसियामा आयोजना ५० किलोमिटर अल्ट्रा ट्रायल डु मोन्ट ब्ल्याङक रनमा सहभागिता जनाउन म्याराथनम्यानले अमर सुब्बा मलेसिया प्रस्थान भएका छन्। उक्त प्रतियोगितामा विश्वका प्रसिद्ध धावकहरूले सहभागिता जनाउने छन्। मलेसियाको ताइपिङमा आयोजन हुने अल्ट्रा ट्रायल रन सबैभन्दा कठिन र चुनौतीपूर्ण रहेको सुब्बाले बताए। मलेसियाको युटीएमबीद्वारा आयोजना गरिने प्रतियोगितामा सुब्बाले सिक्किमको मात्र नभएर देशको प्रतिनिधित्व गरिरहेका छन्। उक्त प्रतियोगितामा सहभागिता जनाउनको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङको सहयोगप्रति कृतज्ञता प्रकट गरेका छन्। यसका साथै मन्त्री भीमहाङ लिम्बू, पर्यटन मन्त्री छिरिङ टी. भोटिया लगायत अन्यले पनि सहयोग गरेका छन्। सुब्बाले वन एवं पर्यावरण विभागीय अधिकारी तेञ्जिङ डब्ल्यू भोटियालगायत अन्य अधिकारीहरुलाई पनि सहयोगका लागि कृतज्ञता प्रकट गरेका छन्। मलेसियामा आयोजना हुने उक्त प्रतियोगिताको छनौटको निम्ति सुब्बाले गत केही दिन अघि महाराष्ट्रमा सम्पन्न भएको एकसय माइल र आन्ध्रप्रदेशको विशाखापटनममा सम्पन्न भएको प्रतियोगितमा तेस्रो स्थान हासिल गरेपछि उनको नाम दर्ता गरेका हुन्।