२३ सेप्टेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा खोप्रेल एफसी-ले पाइनहल एकाडमीलाई २-१-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा गोले ब्रदर्स, घैयाबारीले मञ्जु एथलेटिक क्लबलाई २-०-ले पराजित गऱ्यो। अब शनिवार खेलिने पहिलो म्याचमा एनजेसी र बोडो एफसी-बीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच लोहागड़ एफसी र राइजिंग स्टार फुगुड़ीबीच खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










