नयाँ दिल्ली: एशिया कपपछि भारतीय क्रिकेट टीमले वेष्ट इण्डिजविरुद्ध २ वटा टेस्ट म्याचको सीरीज खेल्नेछ। यस घरेलु टेस्ट सीरीजको निम्ति भारतीय टीमको आउँदो केही दिनमै घोषणा हुनसक्छ। न्यूज एजेन्सी पीटीआईको रिपोर्टअनुार, विकेटकीपर ब्याटर रिषभ पन्तलाई टेस्ट सीरीजमा खेलिरहेको देखिने सम्भावना कम्ती नै रहेको छ कारण उनको चोट अहिलेसम्म सम्पूर्ण रूपले निको भएको छैन। टेस्ट टीमको चयनको निम्ति यस हप्ता अजीत अगरकरको अध्यक्षतामा रहने चयन समितिको बैठक हुनेछ। पन्तलाई टेस्ट सीरीजमा टीममा चयन नगरिने लगभग तय छ। यसबीच ईंग्ल्याण्ड यात्राको निम्ति चयन गरिएका अनुभवी ब्याटर करुण नायरलाई दोस्रो मौका दिइनेछ या छैन भन्ने ठूलो प्रश्न रहेको छ। नायर ८ सालको लामो प्रतीक्षापछि टेस्ट टीममा फर्किएका थिए तर ईंग्ल्याण्ड यात्रामा उनले प्रभावशाली प्रदर्शन गर्न सकेनन्। चयन समितिको बैठक बुधवार या बिहीवार अनलाइन हुनेछ। त्यो भारत ए र अष्ट्रेलिया ए-बीच खेलिने दोस्रो अनौपचारिक टेस्ट म्याचको दोस्रो या तेस्रो दिन पनि हुनेछ।
टेस्ट टीममा स्थान बनाउने रेसमा नायरको निम्ति सबैभन्दा ठूलो चुनौती नीतीश कुमार रेड्डी हुनेछन्, जो अहिले फिट छन् अनि भारत ए टीममा रहेका छन्। पहिलो म्याचमा उनलाई अन्तिम एकादशमा चयन गरिएको थिएन तर दोस्रो म्याचमा खेल्ने मौका पाएका छन्। भारत र वेष्ट इण्डिजबीच पहिलो टेस्ट म्याच २ अक्टोबरदेखि अहमदाबादमा शुरु हुनेछ। यसरी दोस्रो टेस्ट म्याच नयाँ दिल्लीमा १०-देखि १४ अक्टोबरसम्म खेलिनेछ। ईंग्ल्याण्ड यात्रामा ओवलमा भएको अन्तिम टेस्ट म्याचमा अर्द्धशतक बनाउने नायरले असल शुरुवातको फाइदा उठाउन सकेका थिएनन्। उनी खराब फर्ममा नभए पनि ठूलो ईनिंग्स खेल्नदेखि चुकेका थिए। त्यसपछि औंलीको चोटले गर्दा उनी दलीप ट्रफीमा खेल्न सकेका थिएनन्। भारत ए टीमको चयनको समय नै उनलाई फिट घोषित गरिएको थियो। टेस्ट टीममा यशस्वी जयसवाल, केएल राहुल, बी साई सुदर्शन र कप्तान शुभमन गिलको चयन तय छ अनि पन्तको अनुपस्थितिमा ध्रुव जुरेलले विकेटकीपिंग गर्न सक्छन्। अब भारतले एकजना अतिरिक्त ब्याटर चयन गर्नेछ या रेड्डी जस्ता ब्याटिंग अलराउण्डरलाई टीममा राख्नेछ भन्ने हेर्नु रोचक हुनेछ। सबै फिट रहे तीनजना विशेषज्ञ स्पिनर रविन्द्र जडेजा, कुलदीप यादव र वाशिंगटन सुन्दरको चयन तय छ। पेस बलरहरूमा मोहम्मद सिराजको चयन पक्का लागिरहेको छ जबकि जसप्रीत बुमराहलाई ब्रेक दिइने सम्भावना छ। चयन समितिका अध्यक्ष अजीत अगरकर अहिले दुबईमा छन्। उनले त्यहीँ कप्तान गिल र प्रशिक्षक गौतम गम्भीरसँग कुराकानी गर्नेछन्। अतिरिक्त ब्याटरको रूपमा देवदत्त पडिक्कलको नाममा विचार हुनसक्छ। भारत ए टीमबाट खेल्दै पहिलो टेस्टमा असफल रहने श्रेयस अय्यरले चयनकर्ताहरूका मन जित्न दोस्रो टेस्टमा रन बनाउनु पर्नेछ।