बिजनबारी: नयाँ बस्ती नजिकमा मुल सडक लगातार परेको झरीले भत्किएको छ।यसरी सडक भत्किएपछि लगभग आधा दर्जन गाउँका मानिसहरू मर्कामा परेका छन्। विशेष गरेर गाउँ क्षेत्रलाई बिजनबारी बजार लगायत अन्य स्थानहरुसँग जोड्ने उक्त बाटो निर्माण भएकोदेखि नै जोखिमपूर्ण भएको भए तापनि गत केही दिन अघिसम्म वाहनहरु चलाचल हुँदै आइरहेको थियो भने हाल पूर्ण रूपले ठप्प बनेपछि चाँड बाँडकै मुखैमा गाउँलेहरु बिचल्नीमा परेका छन्। यसको साथै उक्त बाटो निर्माणको निम्ति सम्बन्धि निकायले पहल गरिदिने मोटर चालक संगठनका प्रतिनिधिहरुले अनुरोध गरेका छन। अर्कोतिर, आफुहरुले वैकल्पिक मार्गको प्रयोग गर्दै आएको भए तापनि उक्त बाटोको अवस्था पनि जोखिमपूर्ण रहेकोले आफुहरु असुविधामा परेको संगठन प्रतिनिधि डीके राईले बताएका छन। स्मरण रहोस्, उक्त बाटोको भरमा नयाँ नोर तथा गोक दुइ ग्रामको अधिकांश गाउँको साग-सब्जी बजारसम्म पुऱ्याने गरिन्छ भने बजारबाट आवश्यक सामग्रीहरू पनि यहीं बाटो भएर ल्याउने गरिन्छ।










