काठमाडौं: नेपालमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की ले चार नयाँ मन्त्री थप्दै आफ्नो मन्त्रिमण्डल विस्तार गरेकी छन्। यससँगै प्रधानमन्त्री कार्की नेतृत्वमा ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ।
नवनियुक्त मन्त्रीहरूले सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रधानमन्त्री कार्कीले अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य, आपूर्ति, कानुन, न्याय तथा संसदीय मन्त्रालय र भूमिसुधार, सहकारी तथा गरिबी निवारण, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि, मदन परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सिफारिस गरेकी थिइन्।
तर, स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी संगीता कौशल मिश्रको नाम पछि हटाइएको थियो।
यसअघि प्रधानमन्त्री कार्कीले गृहमा ओमप्रकाश अर्याल, अर्थमा रामेश्वर खनाल र ऊर्जामा कुलमान घिसिङलाई नियुक्त गरिसकेकी छन्। जेनजी समूहको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पछि राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई भदौ २७ गते प्रधानमन्त्री नियुक्त गरेका थिए।
सोही दिन कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेका थिए।










