गान्तोक: बोधी टेम्पल एक्ट १९९४ को विरोधमा देशका अन्य प्रान्तहरूमा जस्तै आज सिक्किमा पनि मशाल जुलूस निकालियो। अल सिक्किम बुद्धिष्ट फोरमको तत्वावधानमा राजधानी गान्तोकमा इन्दिरा बाइपासदेखि सिच्छेस्थित जिल्लापाल कार्यालय परिसरसम्म आयोजित जुलूसमा विभिन्न गम्बाका लामाहरू, बौद्ध धर्मावलम्वीहरू साथै अन्यहरूको सक्रिय सहभागिता रहेको थियो।
जुलूसमा अल इण्डिया बुद्धिष्ट फोरमका महासचिव आकाश लामाको पनि विशेष उपस्थिति रहेको थियो। जुलूसपछि पत्रकारहरूलाई सम्बोधन गर्दै लामाले विवादास्पद बोधी टेम्पल एक्ट १९९४ लाई निरस्त पार्नुपर्ने माग पुनः उठाए।
राजनीतिक पार्टी सिटिजन एक्शन पार्टी, सिक्किमका प्रतिनिधिहरूले पनि आजको जुलूसमा सहभागिता जनाएको थियो। पार्टीको जनजाति परिषदका सदस्यहरूले लामाहरूको मागलाई समर्थन जनाउँदै मशाल जुलूसमा भाग लिए। बौद्ध समुदायको धार्मिक अधिकार, सांस्कृतिक पहिचान र आध्यात्मिक सम्पदाको रक्षाको मागलाई पूर्ण समर्थन रहेको पार्टीको पछि विज्ञप्ती जारी गरेर बताएको छ।