गेजिङ: गेजिङ जिल्ला अन्तर्गत देन्तामको खण्ड कार्यालयको पहलमा विभिन्न विद्यालयका प्रमुख र शिक्षा विभागका अधिकारीहरूलाई लिएर हिजो एक समन्वय बैठक सम्पन्न भयो। देन्ताम महकूमा अधिकारीको कार्यालयमा आयोजित बैठकको अध्यक्षता शिक्षा विभागका संयुक्त निर्देशक राजेश थापाले गरेका थिए भने उनको साथमा उप निर्देशक सुश्री सरोजा थापा लगायत ३६ वटा सरकारी विद्यालयका प्रमुखहरू, शिक्षा विभागका अधिकारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
यस अवसरमा तीनवटा खण्डका विद्यालयहरूलाई प्रगतिशील विद्यालय पुरस्कार २०२५ प्रदान गरियो, जसमा नगद पाँच हजार रूपियाँ र प्रशंसा पत्र रहेको छ। यसरी नै एक एक जना पीआरटी, जीटी र पीजीटी प्रोबेशनरी शिक्षकहरूलाई प्रशंसा पत्र पनि प्रदान गरियो। विशेष गरेर बीईओ देन्तामले खण्डस्तरमा विद्यालय र प्रोबेशनरी शिक्षकहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले यो नयाँ प्रक्रिया शुरू गरेको हो। यस अवसरमा बोङतेन सरकारी उच्चत्तर माध्यमिक विद्यालयका वर्ष २०२५ मा राज्य पुरस्कारले सम्मानित शिक्षक तेञ्जिङ लेप्चा, यसै वर्ष राज्य प्रशंसा प्रमाण पत्रले सम्मानित लोवर राधु प्रथामिक पाठशालाकी प्रधानअध्यापिकी प्रेरणा लेप्चालाई सम्मान जनाइयो।
बैठकलाई सम्बोधन गर्दै राजेश थापाले देन्तामका बीईओको सराहना गरे जसले प्रोवेशनरी शिक्षकहरूलाई खण्ड स्तरीय शिक्षक पुरस्कार दिने नयाँ अवधारणा शुरू गरेका थिए। उनले सबै विद्यालय प्रमुख र शिक्षकहरूलाई पूर्ण समर्पणका साथ काम गर्न र विद्यार्थीहरूको शैक्षिक विकासको निम्ति आफूलाई समर्पित गर्न आग्रह गरे। यसको साथै जिल्ला शिक्षा कार्यालयले प्रत्येक विद्यालयको गुनासो सुनेर उच्च अधिकारीहरूसम्म पुऱ्याउनको निम्ति पहल गरिने आश्वासन पनि दिए। उनले सबै विद्यालयका प्रमुखहरूलाई विद्यार्थीहरूको हितमा समर्पित भएर काम गर्ने आग्रह गरे।