गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका उपाध्यक्ष एवं प्रवक्ता रिक्जिङ नोर्बु दोर्जी भोटियाले एसडीएफ पार्टीबाट राजीनामा दिएका छन्। उनले आज मात्र एसडीएफ पार्टीका अध्यक्षलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्। यद्यपि, उनले आफ्नो राजीनामा पत्रमा उपाध्यक्ष, प्रवक्ता, पाकिम, गान्तोक र मंगन जिल्लाको निम्ति विद्यार्थी मोर्चा प्रभारी साथै मुख्यालय र उत्तर जिल्लाको निम्ति युवा प्रभारी पदबाट राजीनामा दिएको मात्र उल्लेख गरेका छन्।
भोटियाले राजीनामा पत्रमा लेखेका छन्, राज्यको राजनीतिक परिस्थिति परिवर्तन हुँदैछ र राज्यका चुनौतीहरूमा पनि केही परिवर्तन भइरहेको छ। हाम्रा युवाहरूको आवाजलाई बुलन्द गर्न मजबुत आवाजको खाँचो रहेको छ। हाम्रो समाजलाई नयाँ विचारहरू चाहिन्छ र हाम्रो भविष्यले साहसको माग गर्दछ।” सिक्किमवासीको सेवामा अब आफ्नो भूमिका नयाँ दिशातिर अघि बड़ाउने पनि गरेका छन् भोटियाले त्यागपत्रमा थप उल्लेख गरेका छन्।
अर्कोतिर एसडीएफ नेतृत्वले आफूलाई विश्वास गरेर यस प्रकारको मञ्च प्रदान गरेकोमा कृतज्ञता व्यक्त गर्दै, भोटियाले पार्टी अध्यक्षलाई उनको जन्मदिनको निम्ति अग्रिम बधाई साथै शुभकामना पनि दिएका छन्। उनले आफ्नो राजीनामामा “अन्त्य होइन तर नयाँ शुरुवात” रहेको उल्लेख गर्दै राज्यका जनताको हितमा निरन्तर सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।