गेजिङ: गेजिङ जिल्लास्थित क्योङसा जिल्ला पञ्चायत भवनमा सुपर भाइजर र बूथ लेबल अधिकारीहरूलाई लिएर इलेक्टोरस रोल म्यापिङ अनि मतदाता सूची मानचित्रण साथै संशोधन सम्वन्धि एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। गेजिङ जिल्ला चुनाउ प्रकोष्ठको पहलमा आयोजित कार्यक्रमको अध्यक्षता जिल्लापाल तेञ्जिङ डी. डेञ्जोङ्गपाले गरेका थिए भने उनको साथमा महकूम अधिकारी सन्देश सुब्बा, खण्ड विकास अधिकारीहरू लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
प्रशिक्षण कार्यक्रममा विशेष गरेर वर्ष २००२ को निर्वाचन सूची र वर्तमान २०२५ को मानचित्रण सूचीको तुलना गर्नको साथै गेजिङ जिल्लाका चारवटा विधानसभा निर्वाचन क्षेत्रमा संशोधन गर्नुपर्ने विषयमा प्रशिक्षण प्रदान गरियो। जसमा योक्सम टाशीडिङ, याङथाङ, मानेबुङ देन्ताम र गेजिङ बर्मेक रहेको छ। यस अवसरमा विशेष गरेर जिल्लाका पर्यवेक्षक र बीएलओहरूलाई संशोधनको निम्ति उनीहरूको जिम्मेवारी महत्वपूर्ण रहेको बताइयो। यस प्रकारको पहलले समावेशी सुनिश्चित गर्नको साथै विसङ्गतिहरू कम गर्न र जिल्लामा निर्वाचन प्रक्रियाको अखण्डता कायम राख्न सहयोग पुग्नेछ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल डेञ्जोङ्गपाले जिल्लामा विशेष गहन संशोधन (एसआईआर) बारे अवगत गराए। उनले भारतको निर्वाचन आयोगद्वारा तोकिएका दिशानिर्देशहरूलाई कार्यान्वयन गर्नुपर्ने विषयमाथि विशेष जोर दिए। यसको साथै उनले बीएलओ र पर्यवेक्षकहरूलाई जिल्लामा स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रक्रियाको पवित्रता कायम राख्न तोकिएको जिम्मेवारी पुरा गर्न प्रोत्साहित पनि गरे।
यसरी नै महकूमा अधिकार सन्देश सुब्बाले भारतको निर्वाचन आयोगको दिशानिर्देशलाई सगी ढङ्गमा पालन गर्नुपर्ने र यसलाई व्यवहारमा ल्याउनु पर्ने कुरामा जोर दिए।