सोनादा: दार्जीलिङ पहाडको युवाहरुलाई उद्यमी बनाउने उद्देश्य राखेर अग्रोलाइफ ट्रस्ट अनि सिपाहीधुरामा अवस्थित वुडकटको संयुक्त तत्वावधानमा सुँगुर पालन तालिम केन्द्रको आज विधिवत उद्घाटन गरिएको छ। अग्रोलाइफ ट्रस्टको तर्फबाट जानकारी दिँदै एस पी शर्माले भने, “यहाँ प्रशिक्षण लिनेहरूलाई हामी “पिग-प्रेनुर” अथवा सुँगुर पालनको उद्यमी बनाउनु चाहन्छौ। उहाँहरू पक्का सुँगुर पालनको व्यवसायमा लाग्नेछन्।”
ट्रेनिङ कुन कुन क्षेत्रमा दिइन्छ भन्ने विषयमा शर्माले भने, “कुनै पनि व्यवसायलाई चलाउन ज्ञान, पशुको स्वास्थ, फण्डिङ अनि बजार व्यवस्था जान्नु अत्यन्तै आवश्यक छ। व्यवसायका यी तीनवटै पाटोहरुलाई जोड्ने प्रशिक्षण तथा सहयोग हामी गर्नेछौं।”
उपलब्ध डाटा अनुसार २०२४ मा सुँगुरको मासुको खपत भारत देशमा मात्र ३.१७ लाख मेट्रिक टन रहेको थियो। दार्जीलिङ अनि हिमाली क्षेत्रमा यसको डिमाण्ड दैनिक रूपमा बढेको छ। सुँगुर पालन भनेको खोरमा सुँगुर हाल्नु मात्र होइन। बजार केन्द्रित सुँगुर पालन गर्नुको निम्ति सुँगुरको स्वास्थ्य, खानपिन, इन्स्योरेन्स अनि बजार व्यवस्था पनि राम्रो हुनुपर्छ। आजको सुँगुर पालकहरुले व्यवसायिक रूपमा सुँगुर पालन नै गरेका छैनन्। सुँगुर हुर्कन्छ तर त्यसको बजार व्यवस्था नै छैन भने पालकले दाम नै पाउँदैन। शर्मा भन्छन्, “यस तालिम केन्द्रमा हामी सफल पालकहरुदेखि लिएर यस विषयका एक्सपर्टहरुसँग पनि प्रशिक्षार्थीहरुलाई भेट गराउने छौं। राम्रो ब्रीडको बच्चा उपलब्ध गराउने छौं साथै उनीहरूलाई व्यवसाय शुरु गर्ने सुरुवाती रकम पनि दिलाउने छौं।”
यहाँको तालिममा इंडिजेनस ज्ञान अनि वैज्ञानिक पद्धतिको समीकरण रहने कुरा वुडकटका सञ्चालकले बताए। त्यसरी नै स्थानीय सभासद नुरी शेर्पाले तालीम केन्द्र स्थापनाको स्वागत गर्दै भने, “वुडकट फार्म खरसाङको शान हो। यहाँ निष्क्रिय रहेको फार्मलाई पुनः सञ्चालनमा ल्याउन पर्छ अनि रोजगारको अवसर सृजना गर्नु पर्छ भन्ने उद्देश्यले हामीले सुँगुर पालनको तालीम केन्द्र यहाँ सुरु गर्दैछौ। व्यवसायी बन्नु हाम्रो आफ्नो मेहेनत माथि पनि निर्भर गर्छ।”
उद्घाटन समय सभासदहरूमा नुरी शेर्पा, श्याम शेर्पा अनि नवराज छेत्री अनि स्थानीय युवाहरुको उपस्थिति रहेको थियो।