खरसाङ: दार्जिलिङ हिमालयन रेलवेको तर्फबाट शनिबारदेखि प्रत्येक शनिवार खरसाङदेखि महानदीसम्म सूर्यास्त (सन सेट) को समयमा र महानदीदेखि खरसाङसम्म प्रत्येक आईतबार बिहान सूर्योदय (सन राइज)को समयमा विश्व प्रसिद्ध ट्रोय ट्रेनको जोय राईड शुरु गरिएको छ।पहिलो शनिबार दार्जिलिङ हिमालयन रेलवेको वाष्पचालित ईञ्जिनको साथमा खरसाङ रेलवे स्टेशनबाट जोय राईड महानदीसम्मको लागि शुरु गरिएको छ। यस क्रममा खरसाङ रेलवे स्टेशनमा रलेवेका एडीआरएम मनोजकुमार सिंह, दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिशप चौधरी, रेलवेको ट्राफिक इन्सपेक्टर चन्दनकुमार र अन्य पदाधिकारीहरु उपस्थित भएर हरियो झण्डा देखाएर शुरु गरिएको छ।

अब प्रत्येक शनिवार खरसाङदेखि महानदीसम्म सूर्यास्तको मनमोहक दृश्यको साथमा पर्यटकहरुका लागि बाष्पचालित ईञ्जनको साथमा जोय राईड हुने भएको छ भने प्रत्येक आईतबार बिहान सूर्योदयको समयमा महानदीदेखि खरसाङसम्म जोय राईड गराइने भएको छ। शनिबार पहिलो दिनको जोय राईडमा खरसाङ क्षेत्र, गिध्द पहाड, सिरुबारी, महानदी क्षेत्रका वरिष्ठ नागरिकहरुलाई नि:शुल्क खरसाङदेखि महानदीसम्म र महानदीदेखि खरसाङसम्म जोय राईड गराइएको छ। यसको साथै खरसाङ प्रेस क्लबका पत्रकारहरुले ट्रोय ट्रेनको जोय राईड गरेका थिए। खरसाङ रेलवे स्टेशनबाट शुरु गरिएको जोय राईड गिध्द पहाडको रक गार्डनस्थित भ्यु पोइन्टमा १० मिनटको लागि रोकिएको थियो भने त्यहाँदेखि महानदीसम्मको यात्रा तय गरिएको थियो। विशेष गरेर दार्जिलिङ हिमालयन रेलवेको जोय राईड दार्जिलिङ रेलवे स्टेशनबाट घुमसम्म प्रत्येक व्यक्ति १,५०० रुपियाँ रहेको जुन पर्यटकहरुका लागि केही महँगो रहेको तर खरसाङदेखि महानदीसम्म सूर्यास्त र सूर्योदयको समयमा शनिबार र आइतबार गरिने ट्रोय ट्रेनको जोय राईड प्रति व्यक्ति केवल ५०० रुपियाँ मात्र गरिएको जानकारी प्राप्त भएको छ। यो विशेष गरेर अब हुने चाढ बाढको समयलाई ध्यानमा राखेर शुरु गरिएको जुन आगामी २ नोभेम्बर २०२५ सम्म आयोजना गरिने अनि यो राम्रोसितले चलेको खण्डमा यसलाई निरन्तरता दिइने भएको छ। पहिलो दिन विश्व धरोहर वाष्पचालित ट्रोय ट्रेनको जोय राईड गर्न पाउँदा स्थानीय वरिष्ठ नागरिकहरु र अन्यहरु धेरै खुशी देखिएका थिए। मानिसहरुले लामो समयपछि ट्रोय ट्रेनको यात्रा गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् भने यो ट्रेन निरन्तर चलिरहोस् र यो हामी सबैको धरोहर रहेको सबैले आफ्नो सम्पत्ति जोगाउनु पर्ने र संरक्षण गर्नु पर्ने मन्तव्य व्यक्त गरेका छन्। उनीहरुले ट्रोय ट्रेनको यहाँको धरोहर र सम्पत्ति रहेको अनि यसलाई संरक्षण गर्नु पर्ने आवश्यकता रहेको बताए।यसको साथै ट्रोय ट्रेनको भाँडा केही कम गरिए पर्यटकहरुका लागि साथै स्थानीयहरुका लागि पनि धेरै राम्रो हुने कुरामा आशा व्यक्त गरेका छन्। शनिबारदेखि शुरु गरिएको ट्रोय ट्रेनको जोय राईड विषयमा पत्रकारहरुसित कुराकानी गर्दै एडीआरएम मनोजकुमार सिंहले खरसाङदेखि महानदीसम्म र महानदीदेखि खरसाङसम्म सूर्यास्तको मनमोहक दृश्यको साथमा प्रत्येक शनिवार अनि प्रत्येक आईतबार बिहान सूर्योदयको समयमा महानदीदेखि खरसाङसम्म जोय राईड केवल ५०० रुपियाँ शुरु गरिएको जानकारी गराएका छन्। उनले यो ट्रोय ट्रेनको जोय राईड आगामी २ नोभेम्बरसम्म चल्ने र यो राम्रोसँग चलेको खण्डमा यसलाई निरन्तरता दिइने भएको बताएका छन्। उनले दार्जिलिङ हिमालयन रेलवेको तर्फबाट एउटा म्युजियमको पनि अनावरण गरिने भएको जानकारी गराउँदै पहिलो दिन शनिबार खरसाङ क्षेत्रका वरिष्ठ नागरिकहरुलाई नि:शुल्क ट्रोय ट्रेनको जोय राईड गराइएको र पहिलो दिन दुईवटा डब्बाभरि मानिसहरु रहेको बताएका छन्। त्यसरी नै दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिशप चौधरीले पनि पत्रकारहरुलाई सम्बोधन गर्दै पर्यटकहरुका लागि खरसाङदेखि महानदीसम्म र महानदीदेखि खरसाङसम्म सूर्यास्तको मनमोहक दृश्यको साथमा पर्यटकहरुका लागि बाष्पचालित ईञ्जनको साथमा जोय राईड शुरु गरिएको जानकारी गराएका छन्। उनले दार्जिलिङदेखि घुमसम्म जोय प्रति व्यक्ति १,५०० रुपियाँ छ जुन केही महँगो भए पनि खरसाङदेखि महानदीसम्म सूर्यास्त र सूर्योदयको समयमा शनिबार र आइतबार चल्ने वाष्पचालित ईञ्जिनको साथमा ट्रोय ट्रेनको जोय राईड प्रति व्यक्ति केवल ५०० रुपियाँमा नै गरिएको जानकारी गराएका छन्। उनले यसको साथमा दार्जिलिङ हिमालयन रेलवेको तर्फबाट दार्जिलिङदेखि खरसाङसम्म र खरसाङदेखि दार्जिलिङसम्म पनि वाष्पचालित ट्रोय ट्रेनको यात्रा शुरु गरिएको जानकारी दिए।

निर्देशक रिशप चौधरीले खरसाङदेखि महानदीसम्म र महानदीदेखि खरसाङसम्म जोय राईड गराइएको मुख्य उद्देश्य खरसाङ क्षेत्रको पर्यटन बढाउन साथै पर्यटकहरु र स्थानीयहरुलाई पनि ट्रोय ट्रेनको जोय राईडको अनुभवको अवसर प्रदान गर्नु रहेको बताए। उनले यो फेस्टिभलको सिजनमा चलाइएको र यो सफल रहेको खण्डमा निरन्तरता दिइने बताए। उनले यसलाई भविष्यमा नयाँ नाम दिएर चलाउने भएको पनि जानकारी गराएका छन्।