गान्तोक: पाँच दिनसम्म चलेको उत्तर–पूर्व राष्ट्रीय सेवा योजना (एनएसएस) महोत्सव २०२५ आज यहाँको मनन केन्द्रमा सम्पन्न भयो। महोत्सवले युवासेवा, सांस्कृतिक आदानप्रदान र क्षेत्रीय एकताको सशक्त सन्देश दिएको छ। समापन समारोहमा सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागकी सचिव सुश्री याङ्चेन डी. तामाङ प्रमुख अतिथि रहेका थिए भने विभागकी प्रमुख इन्जिनियर सुश्री मिलन कुमारी प्रधान विशिष्ट अतिथि रहेकी थिइन्।
सचिव सुश्री तामाङले सहभागीहरूलाई बधाई दिंदै यस महोत्सवले युवा माझ नेतृत्व क्षमताको विकास मात्र होइन, आपसी बुझाइ र मित्रताको अवसर प्रदान गरेको बताइन्। उनले एनएसएस स्वयंसेवकहरूलाई देशका भावी नेता र परिवर्तनकारी शक्ति भनेर उल्लेख गर्दै सफल व्यवस्थापनका लागि आयोजक टोलीलाई धन्यवाद दिइन्। साथै, ‘माई भारत एनएसएस अवार्ड’ प्राप्तकर्ता अर्जुन प्रधानलाई राष्ट्रपतिबाट सम्मानित गरिने जानकारी दिँदै विशेष बधाई दिइ।
यसरी नै खेलकुद तथा युवा मामिला मन्त्रालयका क्षेत्रीय युवा अधिकृत जाङ्जिलङले शुभकामना व्यक्त गर्दै राष्ट्रिय सेवा योजनाको पहुँच र स्वयंसेवक आधार विस्तारका लागि केन्द्र सरकार कटिबद्ध रहेको बताए। उनले उत्तर–पूर्वका युवालाई आफ्नो क्षमताको सीमा नाघेर विकसित भारत निर्माणको यात्रामा योगदान दिन आह्वान गरे।
समारोहमा संगीतकार जुबिन गर्गको असामयिक निधनप्रति एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरियो। साथै, विभिन्न प्रतियोगिताका विजेताहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरियो।
सांस्कृतिक प्रतियोगितामा अरुणाचल प्रदेश पहिलो, मिजोरम दोस्रो र असम तेस्रो भए। यसरी नै क्विज प्रतियोगितामा मणिपुर पहिलो, नगाल्याण्ड दोस्रो र मिजोरम तेस्रो स्थानमा रहे भने फ्लोरा र फौना विषयक पावरपोइन्ट प्रतियोगितामा सिक्किम पहिलो, मिजोरम दोस्रो र मणिपुर तेस्रो भए। उत्तम टोलीको उपाधि त्रिपुराले जित्यो।
यो महोत्सव सेप्टेम्बर १५ देखि १९ सम्म, सिक्किम राज्य एनएसएस सेलको आयोजना तथा भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयको सहयोगमा सम्पन्न भएको हो।










