पाकिम: पाकिमको सामुदायिक भवनमा राष्ट्रीय छात्रावृत्ति पोर्टल र नशामुक्त भारत अभियानमाथि एक दिवसीय सचेतना कार्यक्रम आयोजन गरियो। सामाजिक कल्याण विभागको पहलमा आयोजित कार्यक्रमको उद्देश्य केन्द्र र राज्य सरकारद्वारा शुरू गरिएका छात्रावृत्ति योजना साथै युवाहरूलाई नशालुपदार्थसहित अबैध तस्करीविरूद्ध जागरूकता गराउनु रहेको थियो। आजको कार्यक्रममा महकुमा अधिकारी थेन्डुप लेप्चा थिए। साथमा सामाजिक कल्याण विभागकी संयुक्त सचिव कविता सुब्बा लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। यस अवसरमा केन्द्र र राज्य सरकारद्वारा अनुसूचित जाति र जनजाति विद्यार्थीहरूको निम्ति शुरू गरेको छात्रावृतिबारे जानकारी दिइयो। विभागकी संयुक्त सचिव कविता सुब्बाले विद्यार्थीहरूले छात्रावृत्तिको निम्ति समयमा नै सम्वन्धित निकायसमक्ष आवेदन बुझाउने सुझाउ दिए। उनले आवेदन बुझाउने अन्तिम मिति ३१ अक्टोबर रहेको उनले बताइन्। सोही क्रममा सामाजिक कल्याण विभाग (मुख्यालय) का उपसचिव नामग्याल लेप्चाले एनएमबीएबारे जानकारी गराउँदै नशालुपदार्थको दुरूपयोगको कारणहरूबारे अवगत गराए। युवाहरू राज्यको विकासको मेरुदण्ड हुन् भन्दै उनले नशालुपदार्थ दुरुपयोग, सामाजिक र वित्तीय परिणामबारे उल्लेख गरे। उनले अनुसूचित जाति तथा अनुसूचित जनजाति ऐन, १९८९ र संविधानको धारा ३४१ र ३४२ अन्तर्गत यसको प्रावधानबारेमा विस्तृतरूपमा जानकारी गराए। यस ऐन कार्यान्वयन गर्नुको मुख्य उद्देश्य अनुसूचित जाति जनजातिको अधिकारको संरक्षण गर्नु रहेको बताए। सोही प्रकारले सामाजिक कल्याण विभागकी आइटी सेलकी सहायक निर्देशक सृजना कार्कीडोलीले एनएसपीको प्राविधिक पक्षबारे विस्तृतरूपमा जानकारी गराइन्।