खरसाङ विन्टर रनको ब्यानर, पोस्टर र लोगो सार्वजनिक
खरसाङ: यसपाली पनि खरसाङमा पर्यटनको लागि खरसाङ विन्टर रन आयोजना गरिने भएको छ। गत वर्ष दिगो पर्यटनको लागि दिसम्बर २०२४ मा खरसाङ विन्टर रन आयोजना गरिएको थियो भने यसपाली उत्तरदायी पर्यटनको लागि आगामी ९ नोभेम्बर २०२५ मा खरसाङ विन्टर रन आयोजना गरिने भएको छ। गत वर्ष पहिलोपटक खरसाङ विन्टर रन एक दिवसीय रुपमा आयोजना गरिएको थियो भने यसपाली उक्त खरसाङ विन्टर रन दुई दिवसीय रुपमा उत्तरदायी पर्यटनको लागि उद्देश्यका साथमा ८ र ९ नोभेम्बर २०२ मा आयोजना गरिने भएको छ। उक्त खरसाङ विन्टर रनलाई लिएर आज खरसाङमा पहिलो सभा सम्पन्न भएको छ। सभामा खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, सभासद श्याम शेर्पा, डीएफओ देवेस पाण्डे, रेञ्जर अफिसर सम्पदा साधु, खरसाङ पञ्चायत समितिको कर्माध्यक्ष भक्तिमान तामाङ र मौसम तामाङ, विद्युत् विभाग खरसाङका डिभिजनल म्यानेजर सन्दीप तामाङ, खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङ र टोली, खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशन सचिव राजु गुरुङ र टोली, खरसाङ एथलेटिक्स क्लबको प्रतिनिधिहरु, खरसाङ गोर्खे हाटबाट सभापति बिजय सेञ्चुरी र टोली, वन विभाग, प्रेस क्लब अफ् खरसाङका सभापति वरिष्ठ पत्रकार मुरारीलाल पञ्चम, सचिव हनोक थापा लगायत अन्य प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभामा दोस्रो खरसाङ विन्टर रन आयोजना विषयमा चर्चा परिचर्चा गरिएको छ। सभापछि यसपाली हुने खरसाङ विन्टर रनको ब्यानर, लोगो र पोस्टरहरु संयुक्त रुपमा सार्वजनिक गरिएको छ। यसपाली हुने खरसाङ विन्टर रनको पहिलो दिन ८ नोभेम्बरमा एथलेटिक्सहरु र स्थानीयहरु साथै पर्यटकहरुलाई लिएर हेरिटेज टुर गराइने भएको छ। यसको साथै दोस्रो दिन ९ नोभेम्बर २०२५ को खरसाङ विन्टर रनको आयोजना गरिने भएको छ। यसपाली खरसाङ विन्टर रन अन्तर्गत फन रनको पनि आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ। यसको साथै खरसाङ विन्टर रन अन्तर्गत १० किलोमीटरको महिला र पुरुष वर्गमा ओपेन हुने भएको छ जसमा प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपियाँ प्रदान गरिने भएको छ। त्यसरी नै १० किलोमीटर ४५ वर्षमाथिका महिला पुरुषमा प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपियाँ प्रदान गरिने घोषणा गरिएको छ। त्यसरी नै ५ किलोमिटर ओपेन महिला र पुरुषमा पहिलाे हुनेलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार रुपियाँ प्रदान गरिने घोषणा गरिएको छ।त्यस्तै प्रकारले ५ किलोमिटर ४५ वर्षमाथिका महिला पुरुषमा प्रथमलाई ७ हजार, दोस्रोलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार रुपियाँ प्रदान गरिने घोषणा गरिएको छ। यसको लागि अनलाइनमार्फत् जोडिन सक्ने भएको छ भने जोइन्ट गर्नलाई अनलाइन खुल्ला गरिएको जानकारी प्राप्त भएको छ।

उक्त खरसाङ विन्टर रनलाई लिएर आयोजना गरिएको सभापछि पत्रकार सम्मेलन आयोजना गरेर सभासद श्याम शेर्पा, खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, डीएफओ देवेस पाण्डे, खरसाङ विद्युत् विभागका डिभिजनल म्यानेजर सन्दीप तामाङ, खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनका सचिव राजु गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्। पदाधिकारीहरुले गत वर्ष आयोजना गरिएको पहिलो खरसाङ विन्टर रनको थिम दिगो पर्यटन रहेको थियो भने यसपाली दोस्रो खरसाङ विन्टर रनको यसपालीको थिम उत्तरदायी पर्यटन (रेसपोन्सिबल टुरिज्म) रहेको जानकारी गराएका छन्। पदाधिकारीहरुले खरसाङ विन्टर रनको विभिन्न पक्षहरु विषयमा विस्तृत जानकारी गराएका छन्।