कालेबुङ: युनाइटेड भेटरन्स क्लब, कालेबुङको तत्त्वावधानमा आयोजित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले फाइनलमा प्रवेश गऱ्यो। मेला ग्राउण्डमा बिहीवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा यूकेएफसीले ब्रदरहूड एफसी (गान्तोक, सिक्किम)-विरुद्ध पेनल्टी शूटआउटमा ५-४ ले जीत हासिल गऱ्यो। नियमित ९० मिनटको खेल गोलरहित रह्यो। त्यसपछि अतिरिक्त समयको खेलमा पनि दुवै टीम गोल गर्न असमर्थ हुँदा म्याचको फैसला पेनल्टी शूटआउटद्वारा गरियो। यूकेएफसीका गोलकीपर रुपक कोयालाई प्लेयर अव् द म्याच चयन गरियो, जसले पेनल्टी शूटआउटमा असाधारण शेभ गरे। अब शुक्रवार खेलिने दोस्रो सेमिफाइनलमा जर्जियन एफसी र सिङलिङ स्पोर्टिंग क्लब (सिक्किम)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट फूटबल चीफ कोअर्डिनेटर राजु ग्याबाकले जानकारी दिएका छन्।