गान्तोक: जमिनीस्तरमा वित्तीय साक्षरतालाई मजबुत पार्ने उद्देश्यले आरबीआई गान्तोकले सोरेङ जिल्लामा विद्यालय शिक्षकहरूका लागि ‘प्रशिक्षकलाई प्रशिक्षित गरौँ’ वित्तीय साक्षरता कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रमको समन्वय सोरेङ जिल्लाका संयुक्त निर्देशक तथा सहायक शिक्षा अधिकारीको सहयोगमा भएको हो। कार्यक्रममा जिल्लाभरिका सरकारी सहायताप्राप्त विद्यालयहरूका लगभग ५० शिक्षकहरूले भाग लिएका थिए। कार्यशालाको उद्देश्य शिक्षकहरूलाई आवश्यक वित्तीय ज्ञान प्रदान गर्ने र विद्यार्थीहरूलाई वित्तीय जागरूकताको संस्कृतिलाई बढावा दिनु थियो। आरबीआई गान्तोककी सहायक प्रबन्धक झरना थापाले सहभागीहरूलाई स्वागत जनाउँदै विद्यालय शिक्षामा वित्तीय साक्षरतालाई सामेल गर्ने महत्त्वमाथि जोड दिइन्। सोरेङका संयुक्त निर्देशक, डीईओले जनाएअनुसार शिक्षकहरूलाई वित्तीय ज्ञानले सशक्त बनाउनाले एक गुणात्मक प्रभाव सुनिश्चत हुन्छ, जसले गर्दा विद्यार्थीहरूले सूचित निर्णय लिने दिशामा मार्गदर्शन गर्न सक्षम हुन्छन्। आरबीआई गान्तोकका प्रबन्धक सोहन सिंह राजपुरोहितले बचत, बजेट, बीमा र निवेश योजना जस्ता महत्त्वपूर्ण विषयहरूमाथि एक अन्तर्क्रियात्मक सत्र सञ्चालन गरे। उनले प्रधानमन्त्री जन-धन योजना, प्रधानमन्त्री जीवन ज्योति बीमा योजना, प्रधानमन्त्री सुरक्षा बीमा योजना र अटल पेन्शन योजनालगायत प्रमुख वित्तीय उत्पाद र सामाजिक सुरक्षा योजनाहरूमाथि प्रकाश पारे। सहभागीहरूलाई नामाङ्कन सुविधाको महत्त्व, फोहोर/फाटेका नोटहरूलाई साट्ने प्रक्रिया र अनलाइन धोकाधडीबाट बचाउका उपायहरूबारे पनि जानकारी दिइएको थियो। कार्यक्रममा सहभागीहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भयो, जसले वित्तीय साक्षरता फैलाउन आरबीआईको प्रयासको प्रशंसा गरे।