पाकिम: पाकिमको सामुदायिक भवनमा आज प्रधानमन्त्री विश्वकर्मा योजनामाथि एक दिवसीय सचेतना कार्यक्रम आयोजन गरियो। विशेष गरेर उक्त योजना केन्द्र सरकारले पारम्पारिक कारीगर एवं शिल्पकारहरूलाई सहयोग गर्ने उद्देश्यले शुरू गरेको हो। यस योजनाअन्तर्गत कारीगरहरूले कुनै सम्पति नदेखाइ ब्याङकबाट श्रण प्राप्त गर्न सक्नेछन् साथै कुनै सीप विकास, आधुनिक उपकरणहरू, डिजिटल लेनदेन प्रोत्साहन प्रदान गर्दछ। कार्यक्रममा पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल रबिन सेवा मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। आफ्नो सम्बोधनमा, उनले राज्य सरकारद्वारा शुरू गरिएको पहल एक परिवार, एक उद्यामीमाथि जोड दिए। जसले प्रत्येक घर परिवारमा उद्यमशीलताको भावनालाई मजबुत बनाउने साथै आत्मनिर्भरताको निम्ति आर्थिक वृद्धिलाई बढावा दिनेछ। उनले सहभागीहरूलाई विभिन्न योजनाहरूको लाभ उठाउने साथै यसलाई प्रभावकारी ढङ्गमा कार्यान्वयन गर्ने अपील गरे। उनले सहभागीहरूलाई स्थानीय व्यापार विकासको लागि मात्र नभई अन्तर्राष्ट्रिय बजारहरू अन्वेषण गर्ने पनि जानकारी गराए। यस प्रकारको कार्यक्रमहरूले समग्र विकासमा महत्त्वपूर्ण योगदान पुऱ्याउने सम्भावनामाथि बल दिए। उनले राज्यमा दिगो विकास अभ्यासहरूलाई प्रवर्द्धन गर्ने मुख्यमन्त्रीको पहल, “कनेक्ट टु अर्थ” माथि पनि प्रकाश पारे। अतिरिक्त जिल्लापालले सहभागीहरूलाई उद्यमशीलता, नवप्रवर्तन र आत्मनिर्भरतामा आफ्नो ऊर्जा केन्द्रित गर्न आग्रह गरे। जसले गर्दा राष्ट्र निर्माणमा अर्थपूर्ण योगदान पुग्ने बताए। यसरी नै पञ्चायत अध्यक्ष सकिला राईले आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री विश्वकर्मा योजनाअन्तर्गत प्रदान गरिएका अवसरबारेमा जानकारी गराउने कार्यक्रमहरूमाथि जोड दिइन्। सोही प्रकारले सिक्किम विश्वविद्यालयका प्राध्यापक डा. पीके दासले बजार व्यवस्थापन र बिक्री गर्ने रणनीतिलाई लिएर प्राविधिक सत्र सञ्चालन गरे। उनले सरकार-समर्थित डिजिटल वाणिज्य पहलहरू र जैविक बजार व्यवस्थान केन्द्रित हुँदै अनलाइन बिक्रीका विभिन्न पक्षहरूबारे बताए। उनले एमएसएमई र स्थानीय व्यवसायहरू सहित विक्रेताहरूका लागि समान अवसरहरू सुनिश्चित गर्ने मञ्चकोरूपमा ओपन नेटवर्क फर डिजिटल कमर्सबारेमा थप बताए।