हामीलाई दिल्लीसँग पनि मिलेर काम गर्नुपर्छ, कोलकातासँग पनि मिलेर काम गर्नु पर्छ: अनित थापा
मिरिक: आज जीटीए मुख्य कार्यपाल अनित थापाले सौरेनीमा दुईवटा कार्यकममा उपस्थित थिए। उनले लिम्बू गाउँ टिङलिङमा सामूहिक भवनको उद्घाटन अनि सौरेनी बजारमा दुई तले सार्वजनिक सैनिक भवन निर्माण कार्यको शिलान्यास गरे। मिरिकको सौरेनी बजार, सौरेनी समष्टिमा दुई तले सार्वजनिक सैनिक भवन निर्माण कार्यको शिलान्यास कार्यक्रममा भूतपूर्व सैनिकहरूले आफ्नो मनको कुरा राख्दै भने, “हामीले ८६ को आन्दोलन पश्चात् गोरामुमोलाई सैनिक भवन निर्माणको निम्ति निवेदन गरेको थियौं। तर भवन बनिएन। त्यसपछि विमल गुरूङको सत्तामा पनि निवेदन गर्यौ। तब पनि बनिएन। अब तपाईको समयमा हाम्रो निवेदन लाई स्वीकार गर्दै आज भवन निर्माणको शिलान्यास पनि भयो। तपाईं प्रति हामी भूतपूर्व सैनिकहरू आभारी रहनेछौ।”

थापाले आफ्नो सम्बोधनमा भने, “विगतका नेतृत्वहरुले बनाउनु चाहनु नै भएको हो। अन्य धेरै कामहरु उहाँहरूले गर्नु भयो। मेरो समयमा सैनिक भवन निर्माण हुने योग थिएछ। अब भवन पूर्ण रूपले निर्माण हुनेछ। आगामी फेब्रुअरी महिनामा म फेरि सैनिक भवनको उद्घाटन गर्नु आउनेछु।”

उनले अझ भने, “हामी जनताको निम्ति काम गर्न चाहन्छौ। सकरात्मक सोच राखेर काम गर्दै जानु पर्छ। अल्झाउने कुरामा बेसी समय फाल्नु हुँदैन। सबै राम्रो नै हुनेछ। हाम्रो सोच अब के गर्ने तर्फ लगाउनु पर्छ। हिजो के गर्यो अनि गरेन तर्फ हाम्रो ध्यान लगाउनु हुन्न।”

उनले थपे, “हिजोको नेताहरुलाई अपमान गर्नु सही होइन। हामीलाई कुनै फाइदा हुँदैन। नेताहरुलाई अपमान गर्ने सँस्कार त्याग्नु नै सही काम हो। हामी आफ्नो समयमा के गर्नु सक्छौ त्यतापट्टी ध्यान दिनुपर्छ। हामी हाम्रो काम गर्ने शैली अनि प्रक्रियामा परिवर्तन ल्याउनु पर्छ भन्ने विचार स्थापना गर्नु चाहन्छु।”
राजनीति अनि जातिको लड़ाई अलग अलग हो भन्दै उनले भने, “राजनैतिक लड़ाई अनि जातिको लड़ाई एकै ठाउँमा मिसाउनु खोज्दा हामीले कुनै उपलब्धि गर्नु सकेनौँ। हाम्रो राजनीति उपलब्धिको राजनीति हुनुपर्छ। हामी गोर्खा हौ अनि भाषा हाम्रो नेपाली। जातिको नाममा धेरै राजनीति गर्यौ। तर हामी राजनीतिको शिकार भयौं। हाम्रो जातिको लड़ाई अन्तमा कुर्सीमा नै गएर टुङ्गियो। त्यसैले म जातिको लडाइँलाई राजनैतिक लड़ाई देखि अलग राख्नु भन्छु।
म व्यावहारिक राजनीति गर्छु। झुट बोलेर राजनीति गर्दिनँ। त्यसैले म राज्य सरकार सँग मिलेर काम गर्छु भन्छु। हामी धेरै झुकियौं अब फेरि झुकिन्नु हुन्न। हामीलाई दिल्ली सँग पनि मिलेर काम गर्नुपर्छ, कोलकाता सँग पनि मिलेर काम गर्नु पर्छ। मिलेर काम गर्दा के हुँदो रहेछ, सबैले देखि रहेका छन्।”

सौरेनी, मिरिक क्षेत्रको लिम्बू गाउँ टिङलिङमा १ जुलाई २०१५ मा ठूलाे पहिरो गएको थियो। लगातार परेको भीषण बर्षाका कारण साँझपख पहिरोले बस्तीहरू पुरिएको थियाे, जसमा मुख्यगरी सौरेनी ग्रामपञ्चायतमा करिब २० जनाको ज्यान गएको थियो। यस घटनामा घर-गोठनै पहिरोले बगाएपछि थुप्रै परिवार विस्थापित भए र उद्धार कार्यमा स्थानिय प्रशासन तथा सुरक्षाकर्मीहरू संलग्न भएका थिए। लिम्बू गाउँ टिङलिङलाई चिन्नु पर्दा दागोपाप समयमा काउन्सिलर हुनुहुने स्वर्गीय ए बी थापाको गाउँ हो।
प्राकृतिक आपदाको पीडा खेपिरहेको लिम्बू गाउँ विकासको कार्यहरू देखि पनि वञ्चित रह्यो। उद्घाटन समय थापाले भने, “२०१५को विपदमा परेर ज्यान गुमाउनेहरु प्रति श्रदाञ्जली अर्पण गर्दै उनीहरूको स्मृतिमा निर्माण गरिएको यस सामूहिक भवनको उद्घाटन गर्दछु। यो भवन उहाँहरूको स्मृतिमा अर्पण गर्दछु।”
कार्यक्रममा स्वास्थ्य तथा परिवार कल्याण विभागका कार्यकारी सभासद अरुण सिगचीको विशेष उपस्थिती रहेको थियो। सैनिक भवन निर्माणको जिम्मा खरसाङ सिंचाई विभागले लिएको छ।