सोनादा: दार्जिलिङका वरिष्ठ नाटककार एंव नाट्य कलाकार जीवन गुरुङलाई दोस्रो मनबहादुर गुरुङ स्मृति सम्मान प्रदान गरिने भएको छ। भारतीय नेपाली साहित्यका एक वरिष्ठ साहित्यकार, नाटककार, लोक संगीतकार, व्यङ्ग्यकार स्वर्गीय मनबहादुर गुरुङको स्मृतिमा गठित स्वर्गीय मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाले प्रत्येक वर्ष मनबहादुर गुरुङ स्मृति अन्तर विद्यालय तर्क प्रतियोगिता सम्पन्न गर्नाका साथै कुनै एकजना भारतीय नेपाली विशिष्ट नाटककारलाई मनबहादुर गुरुङ स्मृति नाट्य सम्मान प्रदान गर्ने कार्यक्रम गर्दै आइरहेको छ। यस वर्ष पनि आगामी २४ सेप्टेम्बर २०२५ को दिन सोनादा डिग्री कलेज अनि स्वर्गीय मनबहादुर गुरुङ स्मृति प्रतिष्ठानको तत्वावधानमा सोनादास्थित न्यु लाइट क्लबको प्रेक्षागृहमा मनबहादुर गुरुङ स्मृति अन्तर विद्यालय तर्क प्रतियोगिता साथै दार्जीलिङका विशिष्ट नाटककार जीवन गुरुङलाई मनबहादुर गुरुङ स्मृति नाट्य सम्मानले सम्मानित गरिने भएको छ। उक्त कार्यक्रम विषयमा सोनादामा पत्रकार सम्मेलनमार्फत् साहित्यकार मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाको पदाधिकारीहरुले जानकारी गराएका छन्।

पत्रकार सम्मेलनमा मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाको संयोजक प्राध्यापक मेघनाथ छेत्री, संरक्षक सुमन गुरुङ, सदस्यहरु नरेश कटुवाल अनि रसिक छेत्री उपस्थित भएर यस सम्मान र अन्तर विद्यालय तर्क प्रतियोगिता विषयमा जानकारी गराएका छन्। यस क्रममा प्रतिष्ठानको संयोजक एवं प्राध्यापक मेघनाथ छेत्रीले जानकारी गराए अनुसार आगामी २४ सेप्टेम्बरको दिन सोनादा डिग्री कलेज र साहित्यकार मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाको संयुक्त आयोजनामा अन्तर विद्यालय तर्क प्रतियोगिता र मनबहादुर गुरुङ स्मृति सम्मान प्रदान गरिने जानकारी गराएका छन्।
पत्रकार सम्मेलनमा प्रतिष्ठानको सदस्य एंव युवा कवि नरेश कटुवालले गत वर्षदेखि भारतीय नेपाली साहित्यको नाटककार एंव साहित्यकार मनबहादुर गुरुङको स्मृतिमा शुरु गरिएको सम्मान यसपाली दार्जिलिङका वरिष्ठ नाटककार जीवन गुरुङलाई दोस्रो मनबहादुर गुरुङ स्मृति सम्मान प्रदान गरिने बताएका छन्। उनले जीवन गुरुङले ७० को दशकदेखि नाटक लेखन, निर्देशन, मञ्चन, अभिनय, निर्माता रहेको बताउँदै उनलाई दोस्रो मनबहादुर गुरुङ स्मृति सम्मान प्रदान गरिने घोषणा गरिएको बताएका छन्। उनले उक्त कार्यक्रम आगामी २४ सेप्टेम्बरको दिन सोनादाको न्यु लाइट क्लबमा आयोजना गरिने र उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार एंव नाटककार नन्द हाङखिम उपस्थित रहने पनि जानकारी गराएका छन्।