दारापमा पैह्रो

IMG-20250917-WA0150

चार परिवारको घर र खेत जोखिममा

गेजिङ: पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत याङथाङ समष्टिको दारापस्थित कुरुम्पाङ्फे वार्डमा निरन्तर परेको वर्षाको कारण गत सोमबार दिउँसो ठूलो पैह्रो गएको छ। गाउँलेहरूको बस्ती रहेको स्थानभन्दा करिब ५० फिट तल गएको उक्त पैह्रोका कारण वरपरका चारवटा घर अहिले उच्च जोखिममा परेको छ।
यस पैह्रोले घर मात्र होइन, स्थानीय परिवारहरूको मुख्य आम्दानीको स्रोत रहेको अलैंची खेती पनि बगाएको छ। अलैंची नष्ट भएपछि वर्षौँको मेहनत, पसिना र आशा एकैपटकमा हराएजस्तै भएको पीड़ितहरूको भनाइ रहेको छ। घटनापछि स्थानीय पञ्चायतका प्रतिनिधिहरू स्थलमा पुगेका थिए। उनीहरूले प्रभावित परिवारलाई भेट गरि तत्काल प्रयोग गर्न सकिने राहत सामाग्री उपलब्ध गराएका छन्।
घर वरिपरि चिरा परेको र अझै वर्षा भइरहेकाले जुनसुकै बेला पैह्रोले सबै बगाएर लाने डरले प्रभावित परिवारहरू त्रसित छन्। वृद्ध, बालबालिका र महिलाहरूलाई घरमै राख्दा अझ बढी जोखिम हुने भन्दै प्रभावितहरूले सरकारसँग तत्काल सहयोग मागेका छन्।
एक पीड़ितले भावुक हुँदै भने, हाम्रो खेत गयो, पसिना गयो। अब हाम्रो घर पनि कहिले बग्छ भन्ने थाहा छैन। हामीलाई अस्थायी रूपमा सुरक्षित ठाउँमा बस्न मिल्ने व्यवस्था सरकार वा सम्बन्धित निकायले गरिदियोस्। प्रभावितहरूले राज्य सरकार र सम्बन्धित निकायलाई तत्काल सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement