गान्तोक: भारतीय जनता पार्टीको युवा प्रकोष्ठ भारतीय जनता युवा मोर्चा (बीजेवाइएम) सिक्किम शाखाले आज रक्दनासँगै प्रधानमन्त्री नरेन्द्र मोदीको ७५औं जन्मजदिन पालन गऱ्यो। यसको साथै पार्टीले राज्यमा आफ्नो स्तरमा सेवा पखवड़ा पनि आरम्भ गरेको छ।
पार्टीले जानकारी गराएअनुसार बीजेवाइएम-सिक्किमले आज राज्यका तीनवटा अस्पताल गान्तोकको एसटीएनएम अस्पताल, नाम्चीको नवनिर्मित जिल्ला अस्पताल र गेजिङ जिल्ला अस्पतालमा रक्तदान शिविर आयोजना गरेको थियो जसमा पार्टीका कार्यकर्ता, स्वंयसेवीहरू अनि विद्यार्थीहरूले सक्रिय सहभागिता जनाउँदै स्वेच्छाले रक्तदान गरे।
रिपोर्टअनुसार नाम्चीको नवनिर्मित जिल्ला अस्पतालमा ५० यूनिट रक्त सङ्ग्रह गरिएको छ। यसको साथै नयाँ जिल्ला अस्पतालमा रक्तदान गर्ने पहिलो संस्थान बनेको छ बीजेवाइएम सिक्किम। यसको निम्ति अस्पताल पक्षले पोकलक कामराङका मण्डल अध्यक्ष प्रकाश मैनालीलाई अभिनन्दन पनि जनायो।
रक्तदान शिविरमा भाजपा सिक्किम प्रदेशका महासचिव अर्जुन राईको विशेष उपस्थिति रहेको थियो। यसरी नै गेजिङ जिल्ला अस्पतालमा ४५ यूनिट रक्त सङ्ग्रह गरिएको छ।

अर्कोतिर गान्तोकको एसटीएनएम अस्पतालको रक्तदान शिविरमा पनि पार्टी कार्यकर्ताहरूले सक्रिय सहभागिता जनाएका थिए जसमा पार्टीका जिल्ला उपाध्यक्ष दिनेश चन्द्र राईको विशेष संलग्नता रहेको थियो।