गेजिङ: विश्वकर्मा पूजाको अवसरमा गेजिङ लोकल ट्याक्सी चालक संगठनद्वारा खुल्ला म्याराथन प्रतियोगिता सम्पन्न भयो। सामाजिक चेतना जगाउने उद्देश्यसहित गरिएको म्याराथनमा १५० जना महिला तथा पुरुष धावकहरूले सक्रिय सहभागिता जनाएका थिए। विश्वकर्मा पूजामा धार्मिक अनुष्ठान, पूजा–आराधना र सामुहिक मेलमिलाप हुने चलन हुन्छ। यसपालि चालक संगठनले युवाहरुमाझ चेतनाको नयाँ सन्देश फैलाउने कोशिस गर्दै म्याराथन आयोजन गरेको हो। संगठनका अध्यक्ष विनोद शर्माकाअनुसार प्रतियोगिताको उद्देश्य खेलकुदको मनोरञ्जन मात्र नभई समाजलाई प्रभावित गर्ने नशालुपदार्थविरूद्ध अभियान पनि हो। उनले समाजमा बढ्दै गएको ग्रग्स र विकृतिप्रति युवाहरूलाई सचेत पार्दै खेलकुदतर्फ आकर्षित हुने बताए। प्रतियोगिताको औपचारिक उद्घाटन म्याराथनम्यान अमर सुब्बाले झण्डा हल्लाएर गरे। सुब्बाले खेलकुदबाट जीवनमा सकारात्मक सोच, स्वास्थ्य र आत्मबल प्रदान गर्ने उल्लेख गर्दै युवाहरूलाई यस क्षेत्रमा संलग्न रहने आग्रह गरे। प्रतियोगितामा सहभागी धावकहरू बिहानै गेजिङ बजारमा भेला भएका थिए। महिलादेखि पुरुष, किशोरदेखि युवासम्मका धावकहरूले उत्साहजनक सहभागिता दिए। कार्यक्रमको समापनमा विजयी धावकहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदानगरियो। खेलकुदमार्फत सामाजिक चेतना फैलाउने अभियानलाई आगामी दिनमा निरन्तरता दिने योजनाबारे पनि अध्यक्ष शर्माले जानकारी गराए।