गान्तोक: पार्टीका युवा नेता अरुण लिम्बूको पक्राउलाई लिएर सिक्किम डेमोक्रेटिक फ्रण्टको नाम्ची जिल्ला कार्यकारी समितिको एउटा सभा नाम्चीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। सभाले लिम्बूको पक्राउलाई गैरसंवैधानिक र गैरकानुनी ठहर गरेको छ।
अरुण लिम्बूलाई तानाशाही सरकारको इशारामा कमजोर पुलिस प्रशासनले गैरकानुनी रुपमा पक्राउ गरेको सभामा वक्ताहरूले मन्तव्य व्यक्त गरेका छन्। प्रत्येक क्षेत्रमा असफल भएपछि सरकारले आफ्नो कमजोरीलाई ढाकछोप गर्न यसरी विपक्षी पार्टीका नेता अनि कार्यकर्ताहरूलाई पक्राउ गरिरहेको पनि वक्ताहरूले आफ्नो सम्बोधनमा बताए।
अर्कोतिर संविधानको मर्यादालाई ताकमा राखेर पुलिसले पनि सरकारको इशारामा यसरी कुनै अपराध बिनानै विपक्षी नेताहरूलाई पक्राउ गरिरहेको पनि आजको सभाले ठहर गरेको छ। यसको साथै सरकारले अरुण लिम्बूलाई तत्काल मुक्त गर्नुपर्ने माग गरेको छ।