गान्तोक: नाथाङ माछोङ निर्वाचन क्षेत्रकी विधायक एवं महिला, बाल, वरिष्ठ नगारिक र दिब्याङजन कल्याण विभागकी सल्लाहकार पामिन लेप्चाले आन्ध्रप्रदेश राज्यको त्तिरुपतिस्थित राहुल कन्भेन्सन सेन्टरमा आयोजित महिला सशक्तिकरण सम्बन्धी संसदीय तथा विधान समितिहरूको पहिलो राष्ट्रिय सम्मेलनमा अंशग्रहण गरिन्। गत १४ सेप्टेम्बरदेखि शुरू भएको दुई दिवसीय सम्मेलनको आज समापन भयो। यस सम्मेलनको उद्घाटन लोकसभा अध्यक्ष ओम बिरलाले गरेका थिए। जसमा केन्द्र शासित राज्यका सांसदहरूले पनि सहभागिता जनाएका थिए। सम्मेलनको मुख्य उद्देश्य केन्द्र शासित राज्यका व्यवस्थापिका महिलाहरूलाई सशक्तिकरण गर्ने सम्वन्धि विचार आदान-प्रदानका लागि मञ्च प्रदान गर्ने लक्ष्य राखेको थियो। यस कार्यक्रमको अर्को उद्देश्य चुनौतीहरू पहिचान गर्नु, संसदीय र विधानसभा सदस्यहरूबीच समन्वय कायम गरेर महिलासँग सम्बन्धित नीति र कार्यक्रमहरूको अध्ययन गर्नु रहेको थियो। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै लोकसभा अध्यक्ष बिरलाले भारतको स्वतन्त्रता संग्राम, सामाजिक सुधार आन्दोलन र लोकतान्त्रिक संस्थाहरूमा महिलाहरूको भूमिकामाथि प्रकाश पारे। संविधानमा समानता र न्याय सुनिश्चित गर्न संविधान सभाका महिला सदस्यहरूले पुऱ्याएको योगदानको सम्झना गरे। शासन प्रणालीमा महिलाहरूको सहभागिताले विधायक कार्यप्रणालीलाई मजबुत बनाउने मन्तव्य प्रकट गरे। यस अवसरमा महिलाहरूसँग सम्बन्धित विभिन्न विषयहरूमाथि सत्र आयोजन गरियो। जसमा राजनीतिक र प्रशासनिक संरचनाहरूमा उनीहरूको प्रतिनिधित्व, सामाजिक र आर्थिक समावेशीकरणका लागि उपायहरू, स्वास्थ्य, शिक्षा र रोजगारीसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गरियो।