गेजिङ: भारतीय राज्य ब्याङ्कको आयोजनमा गेजिङ जिल्ला परामर्श समिति तथा जिल्लास्तरीय समीक्षा समितिको संयुक्त सभा सम्पन्न भयो। सभाले गत त्रैमासिक गतिविधिहरूको समीक्षा गरेको थियो। गेजिङका अतिरिक्त जिल्लापाल सुरेश राईको अध्यक्षतामा आयोजन गरेको सभामा अतिरिक्त जिल्लापाल राईले ब्याङ्क सेवाहरू मानिसको घरदैलोमा पुग्नुपर्ने र विभिन्न योजनाबारे जनतालाई अवगत गराउनु पर्ने आवश्यकतामाथि बताए। ब्याङ्कहरुले जिम्मेवारीअनुसार काम गर्ने कुरामा पनि जोड दिए। सभामा विभिन्न महत्त्वपूर्ण विषयहरूमाथि पनि छलफल गरियो। यसबीच जिल्ला क्रेडिट-डिपोजिट अनुपात, वार्षिक ऋण योजनाको प्रगति तथा सरकार प्रायोजित योजनाहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरियो। कृषि क्षेत्रको सशक्तिकरण, किसान क्रेडिट कार्डको वितरण सन्दर्भमाथि पनि छलफल गरियो। साथै आवास ऋण योजना, शैक्षिक ऋण र अन्य योजनाबारे पनि चर्चा गरियो। बैठकले जिल्लास्तरमा वित्तीय समावेशिता र ऋण पहुँचलाई अझ प्रभावकारी बनाउने विषयमा जोड़ दिएको थियो। सभामा महकुमा अधिकारी पुलकित, आरबीआई गान्तोकका अधिकारी पारस नागदेन, कृषि विभागका उपनिर्देशक डा. कर्म छोङ भोटिया लगायत गेजिङ जिल्लाअन्तर्गत विभिन्न ब्याङ्कका प्रबन्धक तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।