सोनादा: आज राज्यको श्रम मन्त्री मलय घटकलाई जीटीए प्रमुख अनित थापा र कार्याकारी सभासद रतन थापाले उनको कोलकोतास्थित वासस्थानमा भेटघाट गरी सिन्कोना र अन्य औषधिजन्य पौधा निर्देशकालयका श्रमिकहरूसँग सम्बन्धित केही महत्त्वपूर्ण मुद्दाहरू पेश गरेका छन्। भेटघाटका क्रममा विभिन्न तर्कहरु क्रमबध्द रुपमा राख्दै एउटा ज्ञापन पत्र पनि पेश गरेका छन्। यसमा निर्देशकालय अन्तर्गत ५३५० जना श्रमिकहरु नियमित रूपमा कार्यरत छन्। तथापि, विगत १३ वर्षदेखि उनीहरूको आधारभूत तलबमा कुनै परिवर्तन भएको छैन। तलब दुई खण्डमा विभाजित छ: आधारभूत ज्याला र महँगी भत्ता। यसको साथै जीटीए र निर्देशकालयबाट सन् २०१७, २०२१ र २०२३ मा पटक-पटक तलब वृद्धिको माग गर्दै राज्य सरकारसम्म पत्राचार गरिएको छ। तर अहिलेसम्म राज्य सरकारबाट कुनै सकारात्मक निर्णय भएको छैन।श्रमिकहरूको अहिलेको दैनिक ज्याला मात्र ३२० रुपियाँ रहेको छ, जुन बढ्दो महँगी र जीवनयापन खर्चको तुलनामा निकै कम छ। पछिल्लो पटक आधारभूत ज्याला सन् २०१२ मा मात्र बढाइएको थियो र त्यसपछि केही सानो भत्ता मात्र थपिएको छ। यस्तो दीर्घकालीन तलब स्थिरताको कारण श्रमिकहरू र उनीहरूका परिवारहरूले गम्भीर आर्थिक समस्याहरू भोगिरहेका छन्। यस विषयमा जीटीए प्रमुख अनित थापाले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, सिन्कोना बगान श्रमिक यूनियनले पनि लगातार तलब वृद्धिको माग गर्दै आइरहेको छ। हामीले उहाँहरूको माङको प्रतिलिपि पनि मन्त्री महोदयलाई पेश गर्यौ।’
उनले अघि भने, ‘श्रम विभागसँग तत्काल आधारभूत तलब बढाउने र समयसमयमा महँगी भत्ता मिलाउने व्यवस्था गर्न अनुरोध गरिएको छ, ताकि श्रमिकहरूको न्यूनतम आवश्यकता पूरा हुन सकोस्।
श्रमिकहरूले वर्षौंदेखि भोगिरहेको यो समस्याको समाधानका लागि शीघ्र र सकारात्मक कदम चाल्न माननीय मन्त्रीज्युलाई आग्रह गरेका छौं।’

अनित थापाले अझ भने, ‘हाम्रो मांगलाई मन्त्री महोदयले गम्भीरतापूर्वक लिनु भएको छ। उहाँले यसमाथि पहल सुरू गर्ने वचन दिनु भएको छ। म आशा राख्छु सिनकोना बगानको दीर्घकालीन मांग यसपालि अवश्य पूरा हुनेछ।’