एसडीएफ-का युवा नेता अरुण लिम्बू पक्राउ

IMG-20250915-WA0166

सरकारले विपक्षको आवाजलाई बलपूर्वक दबाउँदैछः कोमल

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्टका उपाध्यक्ष तथा मजदूर मोर्चा प्रभारी अरुण लिम्बूलाई सदर पुलिस गान्तोकले पक्राउ गरेको छ। उनलाई सामाजिक सञ्जालमा आपत्तिजनक पोस्टहरूलाई लिएर पक्राउ गरिएको बताइएको छ। प्राप्त जानकारीअनुसार सदर पुलिसले लिम्बू विरुद्ध गैरजमानती धाराहरू लगाएको छ।
अर्कोतिर अरुण लिम्बूलाई अनावश्यक धारा लगाएर पक्राउ गरेको भन्दै एसडीएफ पार्टीले भत्सर्ना जनाएको छ। यसलाई प्रजातन्त्रिक व्यवस्था र देशको संविधानले दिएको वाक स्वतन्त्रतालाई खोस्ने एसकेएम सरकारको तानाशाही अनि कायरतापूर्ण कार्य बताएको छ। एसडीएफ पार्टीले आफ्नो युवा नेता अरुण लिम्बूलाई विनाशर्त तत्काल मुक्त गरिनुपर्ने माग गरेको छ। यसको साथै संविधान र कानूनभन्दा माथि कोही छैन भन्दै देशको संविधान र विधिको शासनअनुसार काम गर्ने राज्यको पुलिस प्रशासनलाई सुझाउ पनि दिएको छ।
अरुण लिम्बूको पक्राउलाई लिएर साँझको समय प्रवक्ता कृष्ण खरेल र चेली मोर्चा प्रभारी श्रीमती कोमल चामलिङको अगुवाइमा एसडीएफ पार्टीको एउटा प्रतिनिधि टोली सदर थाना पुगेको थियो। पछि पत्रकारहरूसित कुराकानी गर्दै उनीहरूले वर्तमान एसकेएम सरकारले जनताको आवाज बोल्ने विपक्षीहरूलाई बल प्रयोग गरेर दबाउने गरेको आरोप लगाए। श्रीमती चामलिङले भनिन्, वर्तमान एसकेएम सरकारले यात पुलिस प्रशासनको दुरुपयोग गरेर हुन्छ यात भाड़ाको गुण्डा लगाएर विपक्षको आवाज दबाउने गरेको छ। उनले बताएअनुसार मुख्यमन्त्री प्रेमसिंह तामाङ र उनकी धर्मपत्नी विरुद्ध मानहानीको मामिलामा राज्य सरकारका कुनै ओएसडी-ले अरुण लिम्बू विरुद्ध प्राथमिकी दर्ता गरेको हो। यसरी सरकारी तन्त्रको नै दुरुपयोग भइरहेको पनि उनले थप बताइन्।
सरकारले कथित रुपमा प्रशासनको दुरुपयोग गरेर अरुण लिम्बूलाई पक्राउ गरे पनि एसडीएफ पार्टीले कानुनी रुपमा लड़ाईं लड़ेर नै उनलाई सकुशल मुक्त गर्ने कृष्ण खरेलको भनाइ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement