नाम्ची: भारत सरकारको सामाजिक न्याय तथा अधिकारिता मन्त्रालयको कोलकातास्थित राष्ट्रिय गतिमान अपाङ्गजन संस्थानअन्तर्गत दिव्याङ्गजनको कौशल विकास, पुनर्वास र सशक्तिकरणका लागि समग्र क्षेत्रीय केन्द्र सिक्किमले आज नाम्चीको टाउन हलमा पर्पल फेयर २०२५ आयोजना गऱ्यो। उक्त सांस्कृतिक कार्यक्रम विविधताको उत्सव मनाउन र दिव्याङ्गजनको लागि समावेशितालाई प्रोत्साहन गर्न, प्रतिभा प्रदर्शन गर्न मात्र नभएर दिव्याङ्गजनहरूको अधिकार, सशक्तिकरण र दृश्यतालाई प्रवर्द्धन गर्न समर्पित थियो। उक्त कार्यक्रम विकसित भारत-२०४७ मा दिव्याङ्गजनको महत्त्वलाई उजागर गर्नका लागि आयोजन गरिएको हो। जसले उनीहरूको सहभागिता बिना साँचो राष्ट्रिय विकास अपूर्ण छ भन्ने कुरामा जोड दिएको थियो। जिल्लाका दिव्याङ्गजन विद्यार्थीहरूले विशिष्ट अतिथि र अभिभावक-शिक्षकहरूको अगाडि आफ्नो कौशलको उत्कृष्ट प्रदर्शन गर्नका लागि पर्पल फेयरको जीवन्त मञ्चको भरपुर उपयोग गरे। यस अवसरमा नाम्चीकी जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिमले मुख्य अतिथिको रूपमा उपस्थिति दिँदै सिर्जनात्मक कार्यप्रति प्रेरित गरिन्। उनले दिव्याङ्गजनलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्षम बनाउने मञ्च प्रदान गरेकोमा सीआरसी सिक्किमको प्रशंसा गरिन्। आफ्नो सम्बोधनमा उनले समावेशी वातावरणलाई प्रवर्द्धन गर्नुको महत्त्वमाथि जोड दिइन्, जहाँ सबैले फस्टाउने अवसर पाउँछन्। उनले प्रत्येक व्यक्तिले आफ्नो क्षमता जतिसुकै भए पनि अद्वितीय योगदान दिएको कुरा उल्लेख गरिन्। जिल्लाका दिव्याङ्ग विद्यार्थीहरूलाई मञ्च प्रदान गर्ने सीआरसी सिक्किमको प्रयासको प्रशंसा गरे। उनले अघि बताएअनुसार केन्द्रले दिव्याङ्गजनको कौशल उत्थान गर्न धेरै पहल गरेको छ। कार्यक्रममा नाम्ची जिल्लाका ४० जना दिव्याङ्ग सहभागीहरूले नृत्य, सङ्गीत, स्किट, कविता र चित्रकला लगायतका विविध गतिविधिहरूको माध्यमद्वारा आफ्नो प्रतिभा प्रदर्शन गरे। कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो। यस अतिरिक्त, नाम्ची जिल्लाका एक दिव्याङ्ग बच्चालाई सम्मानित गरियो र उनलाई एउटा चेयर प्रदान गरियो।